Logo

यी हुन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेका निर्णयहरु



काठमाडौं,२६ भदौ । संविधानसभाका अध्यक्ष एवं वर्तमान प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा आज बिहान असामयिक निधन भएकोमा सरकारले दुःख व्यक्त गरेको छ ।

नेम्वाङको अप्रत्यासित निधनपछि आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद्को बैठकले नेम्वाङलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिनेसमेत निर्णय गरेको सरकारकी प्रवक्ता एवं सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन् ।

आकस्मिक बैठकले नेम्वाङको निधनप्रति गहिरो शोक प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै दुःखद घडीमा शोकसन्तप्त परिवारजन र शुभेच्छुकप्रति नेपाल सरकारले समवेदना प्रकट गरेको मन्त्री शर्माले जानकारी दिईन् ।

बैठकले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने, शोक मनाउन अन्तिम संस्कार हुने दिन सार्वजनिक बिदा दिने र उक्त दिन नेपालभरका सरकारी कार्यालयहरु, विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत गरेको छ ।

इलाम क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेम्वाङको गएराति महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको थियो ।

नेम्वाङको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि शिक्षण अस्पतालबाट एमाले मुख्यालय च्यासलमा ल्याइएको छ । नेम्वाङको भोलि राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot