काठमाडौं,२६ भदौ । नेकपा एमालेका उपाध्यक्ष एवम् संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा गएराति भएको निधनप्रति राष्ट्रिय मानव अधिकारले आयोग गहिरो दुःख व्यक्त गरेको छ ।
मानव अधिकार आयोगले आज एक विज्ञप्ति जारी गर्दै नेम्वाङले वि। सं। २०६४ र २०७० सालमा सम्पन्न संविधानसभाको निर्वाचनपश्चात् संविधानसभाको अध्यक्षको रुपमा रही नेपालको संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेको स्मरण गरेको छ ।
‘विधिको शासन, लोकतन्त्र र मानव अधिकारप्रति सदैव प्रतिबद्ध रही राष्ट्रिय मानव अधिकार आयोगको स्थापना, ऐन निर्माण र संशोधनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका नेम्वाङ सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउने विषयप्रति सदैव चिन्तित हुनुहुन्थ्यो । नेम्वाङले मानव अधिकारको संरक्षण, सम्बद्र्धन र यस आयोगको संस्थागत सुदृढीकरणमा पुर्याउनुभएको योगदानको आयोग कदर गर्दछ’,आयोगका प्रवक्ता सहसचिव टीकाराम पोखरेलद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
यस दुःखद् घडीमा आयोग स्वर्गीय नेम्वाङको आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।
एमाले उपाध्यक्ष तथा संसदीय दलका नेतासमेत रहेका नेम्वाङको गएराती ७१ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको थियो ।