Logo

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाई हुँदै



काठमाडौं,२७ भदौ । तत्काली केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएको ५२ जनाको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको पेसी बुधबारका लागि तोकिएको छ । २०७७ मङ्सिर १ गते सर्वोच्च अदालतमा दर्ता भएको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो ।

तत्कालीन प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्सम्बन्धी ऐनमा अध्यादेशमार्फत संशोधन गरी विभिन्न संवैधानिक निकायमा नियुक्ति दिइएका ५२ जना पदाधिकारी तथा सदस्यहरूको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको थियो । तर लामो समयसम्म हेर्न नभ्याउनेमा परेको उक्त रिटमा नियुक्ति गर्नुपर्नाको कारण देखाउन आदेश गर्दै ५२ जनालाई नै प्रत्यर्थी बनाइएको थियो । जसमा अख्तियारका प्रमुख प्रेम राई, लोकसेवा आयोगमा अध्यक्ष माधव रेग्मीलगायत छन् ।

संवैधानिक इजलासमा रहेको सो मुद्दामा सुनुवाइका लागि बुधबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, वरिष्ठतम् ईश्वरप्रसाद खतिवडा र न्यायाधीशहरु डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलास गठन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्