Logo

सुवास नेम्वाङ पदीय दायित्व र मर्यादा ख्याल गर्ने देशकै साझा मान्छे हुनुहुन्थ्योः ओन्सरी घर्ती मगर



काठमाडौं, २७ भदौ । पूर्व सभामुख ओन्सरी घर्ती मगरले स्वर्गीय सुवास नेम्वाङ आफ्नो पदीय दायित्व र मर्यादालाई जहिले पनि ख्याल राख्ने देशकै साझा मान्छेको रुपमा चित्रण गरेकी छिन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेम्वाङ आफूले समन्वयकारी भूमिका खेल्ने कर्तव्यनिष्ठ नेताको रुपमा चिनेको बताईन् ।

‘मेरो दृष्टिमा सुवास नेम्वाङ कर्तव्यनिष्ठ नेता हुनुहुन्थ्यो । उहाँले आफ्नो पदीय दायित्व या मर्यादालाई जहिले पनि ख्याल गर्नुहुन्थ्यो । आफ्नो पदीय दायित्व अन्तर्गत रहेर देशकै साझा मान्छे । समन्वयकारी भूमिका खेल्ने नेता हुनुहुन्थ्यो । यो कुराबाट म एकदमै प्रभावित छु । मैले १३ वर्षको अवधिमा तीन कार्यकाल उहाँ (सुवास नेम्वाङ) सँगै विताएको छु, त्यो पनि एकदमै नजिक रहेर । उहाँ संविधान सभाको अध्यक्ष हुँदा म उपाध्यक्ष थिएँ । उहाँले आफ्नो पदीय दायित्व कहिले पनि भूल्नुभएन,’– उनले भनिन् ।

नेम्वाङले जहिले पनि राष्ट्रिय एकता र सहकार्यको कुरा गरेको उनले स्मरण गरिन् । नेम्वाङ संविधान सभा अध्यक्ष र आफू उपाध्यक्ष रहेको बेलाको स्मरण गर्दै उनले आफूले जहिले पनि गाईड लाईन पाएको बताईन् । सहमति, सहकार्य र एकता नेम्वाङको मूल मन्त्र रहेको उनको भनाई छ । उनले संविधान जारी गर्दा सबै राजनीतिक दलहरुलाई एक ठाउँमा ल्याउन नेम्वाङले ठूलो भूमिका खेलेको बताईन् ।

आफू सभामुख भएको बेलामा नेम्वाङले अभिभावकको रुपमा सहयोग गरेको उनको भनाई छ । नेम्वाङ नेकपा (एमाले) को सांसद भएपनि आफूले सल्लाह माग्दा जहिले पनि पूर्व सभामुख र संविधान सभा अध्यक्षको हैसियतमा सल्लाह दिएको उनले स्मरण गरिन् ।

‘उहाँ मेरो अभिभावक हुनुहुन्थ्यो । उहाँ संसदको सदस्य हुनुहुन्थ्यो । उहाँले कहिले पनि सदन छोड्नु भएन । सदनमा प्रत्येक दिन आउनुहुन्थ्यो र केही परेको खण्डमा मैले समय मागे भने उहाँले कुनै हिचकिच नगरेर समय दिनुहुन्थ्यो । उहाँ त्यतिबेला नेकपा (एमाले) को सांसद भएपनि कहिले पनि नेकपा (एमाले) को सांसद भएर सुझाव दिनुभएन ।’ उनले भनिन्, ‘उहाँले पूर्व सभामुख, संविधान सभा अध्यक्षको हैसियतबाट जहिले पनि मलाई अभिभावकत्व दिनुभयो । मैले दुई वर्ष सभामुख चलाए । मेरो कार्यकालको अन्तिम दिन मैले छोटो सम्बोधन गरेको थिएँ, त्यसमा मैले उहाँलाई अभार प्रकट गरेको थिएँ, सल्लाहकार मानेको छु ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot