Logo

६० किलो सुन प्रकरण: दावा पत्नी अमलासहित ५० जनालाई प्रतिवादी बनाउन सीआइबीको राय



काठमाडौं,२७ भदौ । गत साउन ३ गते काठमाडौंको सिनामंगलबाट बरामद भएको ६० केजी ७१६ ग्राम सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले ५० जनालाई प्रतिवादी बनाउन जिल्ला सरकारी वकिल कार्यालयलाई राय दिएको छ । प्रसिवादी बनाइएका ५० जनामा सुन तस्करीका मुख्य नाइके भनिएका तिब्बतियन मूलका वेल्जियम नागरिक दावा छिरिङकी पत्नी अमला रोकासमेत रहेको सीआइबी स्रोतले जानकारी दिएको छ । ।

काठमाडौंमा रहेको होटल भियानाकी सञ्चालकसमेत रहेकी अमला रोका माओवादी केन्द्र निकट रोल्पा–काठमाडौं सम्पर्क मञ्चको पूर्वउपाध्यक्ष समेत हुन् ।

५० जना प्रतिवादीमध्ये ३२ जना पक्राउ परेको र १८ जना फरार रहेको सीआईबीको भनाइ छ । सीआईबीले हङकङबाट ल्याइएको उक्त अवैध सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउन लागेको हो ।

पक्राउ परेकाविरुद्ध भन्सार ऐनअन्तर्गत अवैध सुन पैठारी र संगठित अपराध, नागरिकता सम्बन्धी ऐन, राहदानी ऐन, अध्यागमन ऐन सम्बन्धी कसुरको कारबाही अगाडि बढाउन पनि सीआईबीले राय दिएको छ ।

सङ्गठित अपराध कसुरमा म्याद थप गरिएकाले त्यसको अनुसन्धानको मिति ६० दिनको हुन्छ । यही ३१ गते ६० दिन पुग्ने भएकाले सो मितिसम्ममा मुद्दा अदालतमा पुर्याइसक्नुपर्ने हुन्छ । त्यसैले सरकारी वकिललाई तीन दिन मिसिल अध्ययनको समय पाउने गरी आज प्रतिवेदन बुझाउने मिति तय गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्