Logo

सुन तस्करी प्रकरणमा पक्राउ परेकी सुब्बासहित ६ जनालाई मुद्दा नचलाउन सीआइबीको राय



काठमाडौं,२७ भदौ । गत साउन ३ गते सिनामंगलबाट बरामद भएको ६० किलो ७१६ ग्राम सुन बरामद प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबीले) आफ्नो अनुसन्धान सकेको छ ।

सीआइबीले आज ५७ दिनसम्म अनुसन्धान गरेर आफ्नो प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । सीआइबीले यस प्रकरणमा ४४ जनालाई प्रतिवादी बनाएको छ । उनीहरुबाट ३ अर्बभन्दा धेरै बिगो मागदाबी गर्न रायसमेत दिएको छ ।

सीआइबीले यस प्रकरणमा पक्राउ परेका ६ जनाविरुद्ध भने मुद्दा नचलाउन राय दिएको छ । सीआइबीले भन्सार एजेन्ट रुक्मिना सुब्बा, ट्याक्सी चालक अशोक लामा, राजन श्रेष्ठ, भन्सारका कर्मचारी श्रीधर टण्डन, कमल परियार र सुरेन्द्र तामाङविरुद्ध भने मुद्दा नचलाउन राय दिएको हो।

सुब्बा स्वास्थ्य अवस्थाका कारण यसअघिनै रिहा भइसकेकी छन् भने अन्य प्रतिवादीहरु हालपनि सीआइबीको हिरासतमा रहेका छन् । हङकङबाट साउन २ गते भित्रिएको उक्त सुन प्रकरणमा ३२ जना पक्राउ गरिएको सीआईबीले जनाएको छ। अरु १८ जना फरार छन्। पक्राउ पर्नेमा ९ जना विदेशी छन्।

फरार रहनेमा भने १४ जना विदेशी रहेको सीआईबीले बुधबार पत्रकार सम्मेलनमा जानकारी दिएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot