काठमाडौं, २७ भदौ । आपराधिक लाभ (एक्स्टर्सन) लिएको अभियोगमा प्रहरीले सुरजकुमार श्रेष्ठलाई पक्राउ गरेको छ ।काठमाडौं महानगरपालिका ३२ बस्ने ३३ वर्षीय श्रेष्ठलाई प्रहरीले गत सोमबार पक्राउ गरेको हो ।
श्रेष्ठले जबरजस्ती २० लाख रुपैयाँको चेक र ८ लाख ५० हजार रूपैयाँको कागज गराई आपराधिक लाभ लिने कार्यमा संलग्न रहेको खुल्न आएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार श्रेष्ठले काठमाडौं काँडाघारीस्थित घरजग्गा कोरोबार तथा ड्राइभिङ सेन्टर सञ्चालन गर्ने कार्यालयमा एक व्यक्तिलाई बोले कराएमा ज्यान लिनेसम्मको धम्की दिई कुटपिटसमेत गरेर जबरजस्ती चेक लिने र कागज गराउने कार्य गरेका थिए ।
श्रेष्ठ जबरजस्ती करणी मुद्दामा ५ वर्ष कैद भुक्तान गरी छुटेको र गुण्डागर्दीमा समेत संलग्न रहेको खुल्न आएको प्रहरीले जनाएको छ ।
उनलाई आपराधिक लाभ लिन नहुने कसूरमा थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको उक्त अपराधमा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।