Logo

६० किलो सुन प्रकरण: दावा पत्नी अमलासहित ४ नेपाली फरारको सूचीमा



काठमाडौं,२७ भदौ । गत साउन ३ गते बरामद भएको ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बुधबार जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको छ ।

प्रहरीले कुल ५० जना प्रतिवादी बनाएको उक्त प्रतिवेदनमा ६ जनाविरुद्ध भने मुद्दा नचलाउन राय दिएको सीआईबीले जनाएको छ ।

त्यसरी मुद्दा नचलाउन सुझाव दिएकाहरूमा ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट रुक्मिना सुब्बा, कार्गो सञ्चालक राजन श्रेष्ठ, नरेश भन्ने सुरेन्द्र तामाङ, भन्सार कार्यालयका कर्मचारी श्रीधर टण्डन र कमल परियार रहेका छन् । सीआईबीले ३२ जनालाई पक्राउ गरेको थियो ।

उनीहरूबाहेक सीआईबीले अझै १८ जना फरार रहेको जनाएको छ । फरार रहेकामध्ये १४ जना चिनियाँ नागरिक छन् भने चार नेपाली नागरिक छन् ।

फरार भएका नेपालीहरूमा रोल्पाका अमला रोका, बाराका भोला सराफ, अछामका जीवन चलाउने र एकजना जिमी भन्ने फरार रहेको सीआईबी स्रोतले बतायो । अमला पक्राउ परेका चिनियाँ मूलका बेल्जियम नागरिक दावाका श्रीमती हुन् ।



प्रतिक्रिया दिनुहोस्