काठमाडौं,२९ भदौ । सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम अनुमोदन भएको छ । आज बसेको संसदीय सुनुवाई विशेष समितिले शर्माको नाम सर्वसम्मतरुपमा अनुमोदन गरेको हो ।
भदौ १० गतेको न्यायपरिषद्को बैठकले शर्माको नाम न्यायाधीशमा सिफारिस गरेको थियो । भने संसदीय सुुनुवाइ समितिले १५ भदौंमा १० दिनको समय दिएर उनीविरु४ उजुरी आव्हान गरेको थियो । समितिले दिएको समयापधिमा कुनैपनि उजुरी नपरेपछि आज बसेको समितिको बैठकले उनको सीधै सुनुवाइ गरेको हो ।
अनुमोदन भएसँगै सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश विनोद शर्माले सबैका लागि न्याय सुनिश्चित गर्न आफू लागिपर्ने बताएका छन् ।
शुक्रबार सिंहदरवारमा बसेको संघीय संसदको संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो भावी योजना प्रस्तुत गर्ने क्रममा उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । प्रस्तावित न्यायाधीश शर्माले न्यायमा ढिलासुस्ती र खर्चिलोपन हुन नदिनका लागि आफूले सक्दो पहल गर्ने बताए ।
अदालतले तर्जुमा गरेको रणनीतिक योजनामा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका बीचको सन्तुलन, नियन्त्रणको सिद्धान्तलाई नेपालको अदालतले अंगीकार गरिरहेको उल्लेख गर्दै उनले त्यसलाई अझै प्रभावकारी ढंगले अघि बढाउनुपर्नेसमेत बताए ।
समितिबाट अनुमोदित भएका शर्मालाई अब राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नेछन् ।