Logo

पुरानै शुल्कमा इन्जिनियरिङ पढ्न पाउनुपर्ने तीन विद्यार्थी संगठनको माग



काठमाडौं, २९ भदौ । नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी) र समाजवादी विद्यार्थी युनियनले इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) लाई शुल्क वृद्धि नगर्न संयुक्त रुपमा आग्रह गरेका छन् । आज (शुक्रबार) संयुक्त पत्रकार सम्मेलन गरी उनीहरुले विगतमा कायम भएको शुल्कमा नै विद्यार्थीले पढ्न पाउने व्यवस्था मिलाउन आईओईलाई आग्रह गरेका हुन् ।

विगतमा कायम रहेको शुल्कमै विद्यार्थीले पढ्न पाउनु पर्ने व्यवस्था गरी प्रवेश परीक्षा लिइनुपर्ने उनीहरुको माग छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले विद्यार्थीहरुले पुनानै शुल्कमा पढ्न पाउनुपर्ने बताए । शुल्क वृद्धि भए नेविसंघ फेरि आन्दोलनमा उत्रिने उनको चेतावनी छ ।

आईओईले स्नातक तहको विई/विआर्कमा शुल्क वृद्धि गरेको थियो । शुल्कवृद्धि फिर्ताको दवाबमा विद्यार्थी संगठनहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरेका थिए । त्यसपछि विभिन्न सरोकारवालाबीच सहमति भएर विद्याथी संगठनले आन्दोलन फिर्ता लिएका थिए ।

आन्दोलन फिर्तापछि इन्जिनियरिङतर्फको अध्ययनका लागि शुल्क समायोजन गर्न ११ सदस्यीय समिति गठन भएको छ । उक्त  समितिले पाँच लाख ५४ हजार शुल्क निर्धारण गर्न प्रस्ताव भएको भन्दै विभिन्न विद्यार्थी संगठनले आपत्ति जनाएका हुन् ।

तीन विद्यार्थी संगठनले विद्यार्थीले पुरानै शुल्कमा पढ्न पाउनुपर्ने बताए । अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चासिंहले आईओईले वृद्धि गरेको शुल्क अन्यायपूर्ण, अपादर्शी र अवैज्ञानिक रहेको बताईन् । सरोकारवालाहरुसँग कुनै समन्वयनै नगरी नयाँ शुल्क कायम गर्न लागिएको भन्दै उनले आपत्ति जनाईन् । आईओईको नियमित परीक्षा र प्रवेश परीक्षा प्रभावित हुन नहुने उनको भनाई छ । Photo By: Dinesh Chaudhary/ reporters Nepal 



प्रतिक्रिया दिनुहोस्