Logo

सुवास नेम्वाङको निधनमा गण्डकी प्रदेश सभाबाट शोक प्रस्ताव पारित



काठमाडौं,२९ भदौ । गण्डकी प्रदेश सभाको बैठक भोलि बिहान ८ बजे सम्मका लागि स्थगित भएको छ । शुक्रबार बसेको बैठकमा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित भएको थियो ।

प्रदेश सभाका सभामुख कृष्ण धितालले राखेको शोक प्रस्ताव सर्वसम्मतरुपमा पारित भएपछि बैठक भोलिसम्म स्थगित भएको हो ।

लोकतन्त्र र गणतन्त्रका लागि भएका हरेके आन्दोलनहरुमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गरेका, संविधान निर्माण गर्न अहम् र नेतृत्वदायी भूमिका खेलेका मृदुभाषाी, सरल, सहज र समन्वयकारी व्यक्तित्वका धनी नेम्वाङको अप्रत्याशित निधनबाट मुलुकलाई अपुरणीय क्षति पुगेको पारित शोक प्रस्तावमा भनिएको छ ।

‘नेपालको वर्तमान संसदद र संसदीय राजनीतिमा समन्वयकारी भूमिका खेल्ने कार्यमा उहाँको महत्वपूर्ण भूमिका रहेको थियो,’ प्रस्तावमा उल्लेख छ । २०४८ र २०५२ सालममा एमालेको तर्फबाट राष्ट्रिय सभा सदस्य, २०५६ मा प्रतिनिधि सभा सदस्य, २०६३ सालको पुनस्थापित प्रतिनिधिसभा तथा व्यवस्थापिका संसद सदस्य भएका थिए भने २०६४ साल यताका ४ वटा निर्वाचनमा इलामबाट विजयी हुँदै निरन्तर संसदमा थिए ।

नेम्वाङको ७१ वर्षको उमेरमा मंगलबार निधन भएको थियो । भने, उनको हिजो पशुपति आर्यघाटमा हिन्दू र लिम्बू संस्कारअनुसार अन्तिम संस्कार गरिएको थियो । राजकीय सम्मानका साथ भएको अन्त्येष्टिमा सरकारले सार्वजनिक बिदासमेत दिएको थियो ।



प्रतिक्रिया दिनुहोस्