Logo

एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टिमको घोषणा, आरिफ र भीम आउट हुँदा विनोद भण्डारीको पुनरागमन



काठमाडौं,२९ भदौ । नेपाल क्रिकेट संघ (क्यान) ले एसियन गेम्सका लागि नेपाली टिमको घोषणा गरेको छ। क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो।

एसियाली खेलकुदको क्रिकेटतर्फको प्रतिस्पर्धा असोज १० देखि सुरू हुँदैछ। प्रतियोगिताको परिवर्तित खेल तलिकाअनुसार पुरुषतर्फ नेपाल समूह ‘ए’ मा परेको छ। समूहमा नेपालसँगै माल्दिभ्स र मंगोलिया छन्।

समूह विजेता बने नेपाल क्वार्टरफाइनल पुग्नेछ। क्वार्टरफाइनलमा चार टिमले स्थान पक्का गरिसकेका छन्।

विनोद भण्डारीले फेरि राष्ट्रिय टिममा पुनरागमन गरेका छन् । विनोदसँगै विवेक कुमार यादव र अविनाश बोहोराले पनि टिममा स्थान बनाएका छन् ।

एसिया कप क्रिकेट प्रतियोगिता खेलेका भीम सार्की र आरिफ शेख भने टोलीमा पर्न असफल भएका छन् । सार्की र शेखसँगै एसिया कपका लागि टिममा परेका अर्जुन साउद, श्याम ढकाल र किशोर महतोले पनि टिममा स्थान बनाउन सकेनन् ।

नेपाली टिम- रोहित पौडेल (कप्तान), करण केसी, प्रतिश जिसी, आसिफ शेख, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, सन्दीप जोरा, विनोद भण्डारी, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, विवेककुमार यादव, अभिनास बोहरा, सन्दीप लामिछाने।



प्रतिक्रिया दिनुहोस्