Logo

बाल मन्दिरमा भएका अनियमितताप्रति मन्त्रालय गम्भीर छः मन्त्री आचार्य



काठमाडौं,२९ भदौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बालमन्दिरमा भएका अनियमितताप्रति मन्त्रालय गम्भीर रहेको बताएका छन् ।

५९औँ राष्ट्रिय बाल दिवसका अवसरमा नेपाल बाल सङ्गठन, केन्द्रीय कार्यालय (बाल मन्दिर) द्वारा आज आयोजित ‘पुरस्कार तथा प्रमाणपत्र वितरण’ समारोहमा मन्त्री आचार्यले विगतमा बालमन्दिरका जग्गा जमिन, भौतिक सम्पत्तिमाथि भएका अनियमिततालाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको बताएका हुन् ।

“विगतमा अनैतिक र अवैधानिक किसिमले लिएका सम्पत्ति बाल सङ्गठनको नाममा आउनुपर्छ । बाल सङ्गठनका नाममा भएका भौतिक सम्पत्तिलाई व्यवस्थित र एकीकृत गर्दै सम्पूर्ण बालबालिकाको हक, हितमा लगाउनका निमित्त मन्त्रालय गम्भीर रहेको छ”, उनले भने, “बालमन्दिरका नाममा करोडौँ सम्पत्ति छ तर संरक्षित बालबालिका अत्यन्तै दयनीय अवस्थामा बसिरहेका छन् ।”

बाल सङ्गठनका विकृति विसङ्गतिलाई हटाएर सही बाटोमा लैजान पहल गर्ने उनको भनाइ छ । बाल सङ्गठनका अध्यक्ष विद्या न्यौपानेले २०२१ सालदेखि नेपाल बाल सङ्गठनको स्थापना भएसँगै नेपालले राष्ट्रिय बाल दिवस मनाउँदै आएको जानकारी दिँदै बाल मन्दिरका इतिहासका पानाको संरक्षण गर्न पहल गर्नुपर्ने बताइन् ।

कार्यक्रममा चित्रकला प्रतियोगितामा ३४ वटा विद्यालयबाट ९९ बालबालिकाले सहभागिता, बालगीत प्रतियोगितामा २४ विद्यालयबाट एक सय १७ बालबालिकाको सहभागिता र नृत्य प्रतियोगितामा २० वटा विद्यालयबाट एक सय ३६ जना बालबालिकाको सहभागिता रहेको सङ्गठनले जनाएको छ ।

सोही कार्यक्रममा ‘बालक पत्रिका’ लोकापर्ण भएको थियो । मन्त्री आचार्य, सङ्गठनका अध्यक्ष न्यौपाने, वरिष्ठ समाजसेवी राधिका शाक्य र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमुनि हार्तम्छालीले संयुक्तरूपमा उक्त पत्रिका लोकार्पण गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot