Logo

प्रधानमन्त्री प्रचण्डद्वारा नागरिक उड्डयन प्राधिकरणको नवनिर्मित भवन उद्घाटन



काठमाडौं, २९ भदौ । नेपाल नागरिक उड्डयन प्राधिकरणको सिनामंगलस्थित प्रधान कार्यालयको नवनिर्मित भवन आज (शुक्रबार) उद्घाटन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक समारोहबीच नवनिर्मित भवन उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विभिन्न उतारचढावका बावजुद प्राधिकरण आजको अवस्थामा आईपुगको स्मरण गरे । आगामी दिनमा प्राधिकरण थप सुदृढ र व्यवस्थित हुँदै जानेमा उनले विश्वास व्यक्त गरे ।

पोखरा र भैरहवामा रहेका अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण कार्यक्षमतामा सञ्चालनका निम्ति सरकारले आफ्नो तर्फबाट आवश्यक पहल र अग्रसरता लिइरहेको उनले बताए ।

पहाडी जिल्लाहरूसहित देशभरिमा ३० वटा विमानस्थलले हवाइ सेवा प्रदान गरिरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले ति विमानस्थलको पूर्वाधार विकास, अत्याधुनिक उपकरणहरूको प्रबन्ध लगायतका विषयमा गम्भीर ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए । प्राधिकरणले आगामी दिनमा यस क्षेत्रमा थप मेहेनत गर्ने उनको भनाई छ ।

त्रिभुवन विमानस्थलको आधुनिकीकरण गर्ने गुरूयोजना अन्तिम चरणमा पुगेको समेत उनले जानकारी गराए । उक्त कार्यलाई तीव्रताका साथ अगाडि बढाउन उनले प्राधिकरणलाई निर्देशन पनि दिए ।

प्रधानमन्त्री प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको सन्दर्भमा विज्ञ समूहबाट प्राप्त सुझावका आधारमा निर्माण कार्य अगाडि बढाउन मन्त्रिपरिषद् बैठकबाट ठोस निर्णय लिइने बताए ।

नेपालको हवाइ सुरक्षामा चासो र गम्भीरता हुनुपर्ने प्रचण्डले बताए । प्राधिकरणको तर्फबाट हवाइ सुरक्षाका निम्ति महत्वपूर्ण प्रयासहरू भएपनि ती प्रयासहरू जोखिम न्यूनिकरणका दृष्टिले पर्याप्त नभएको उनले बताए ।

‘‘आइसिएओ’’ले प्रतिपादन गरेको हवाइ सुरक्षा सम्बन्धी विश्वव्यापी मापदण्डप्रति नेपाल प्रतिवद्ध रहेको विश्वास दिलाउँदै उनले यसका लागि नीतिगत, कानुनी, संस्थागत र संरचनागत सुधारमा ठोस पहल गर्ने बताए ।

उनले भविष्यमा थप स्पष्ट नीति, कार्ययोजना र कार्यक्रमका साथ अगाडि बढ्न प्राधिकरणलाई निर्देशन दिए ।  फोटो: प्रदीप राज वन्त



प्रतिक्रिया दिनुहोस्