Logo

कांग्रेस नेता पौडेल भन्छन्, ‘सरकार परिवर्तनको सम्भावना बढ्यो’ (भिडिओसहित)



काठमाडौं, ३० भदौ । नेपाली कांग्रेसका युवा नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले पार्टी सरकार परिवर्तन गर्नुपर्ने निष्कर्षमा पुग्ने सम्भावना बढेको बताएका छन् ।

हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारप्रति व्यापक असन्तुष्टि बढेकाले आफूहरु सरकार परिवर्तनको निष्कर्षमा पुग्ने सम्भावना रहेको बताएका हुन् ।

‘सरकार परिवर्तन गर्ने निष्कर्षमा कांग्रेस पुगेको छैन । तर, पुग्नसक्ने सम्भावना किन बढेको छ भने सरकारप्रति असन्तुष्टि बढिरहेको छ । यसरी असन्तुष्टिहरु बढ्दै गयो र सरकारबाट उपलब्धीहरु देखाउने काम भएन भने हामीले कसैलाई प्रधानमन्त्री बनाइरहन किन सरकारमा बस्नपर्यो र ?’– उनले प्रश्न गरे ।

सरकारमा बसेर जनताको पक्षमा काम हुन नसकेको उनको टिप्पणी छ । पार्टी सरकारमा बस्ने हो भने सरकारले जनताको पक्षमा काम गरेर उपलब्धी देखाउन सक्नुपर्ने उनको भनाई छ । उपलब्धी देखाउन नसक्ने र जनताका पक्षमा काम नगर्ने हो भने प्रतिपक्षमा बसेर खबरदारी गर्नु उचित हुने उनले बताए ।

स्थानीय तहदेखि प्रदेश र संघीय सरकारमा सहभागी भएर जनताको पक्षमा काम गर्न नसक्ने हो भने त्यसको कुनै अर्थ नहुने उनले बताए । आगामी असोज ४ गते बस्ने पार्टीको केन्द्रीय समिति बैठकमा सरकारमा बसिरहँदा फाइदा हुन्छ कि छोड्ने भन्नेबारेमा पनि छलफल हुने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot