Logo

तीनकुनेमा भएको सामूहिक हत्याको अनुसन्धान गर्न ५ सदस्यीय समिति गठन



काठमाडौं, ३० भदौ । गृह मन्त्रालयले काठमाडौंको गैरीगाउँमा भएको सामूहिक हत्याको अनुसन्धानका लागि ५ सदस्यीय अनुसन्धान समिति गठन गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरको संयोजकत्वमा समिति गठन भएको हो ।

समितिमा जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी नायव उपरीक्षक हरि खतिवडा, काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी नायव उपरीक्षक सुवास खड्का, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका, मिनभवनका प्रहरी नायव उपरीक्षक सुरक्षा केसी र प्रहरी वृत्त, नयाँ बानेश्वर प्रहरी निरीक्षक वीरेन्द्र केसी रहेका छन् ।

धारिलो हतियार प्रहार गरी चार जनाको हत्या भएको थियो । गृह मन्त्रालयले उक्त घटनाको सम्बन्धमा शुक्ष्म अनुसन्धान गरी यथाशीघ्र प्रतिवेदन पेश गर्न समितिलाई आग्रह गरेको छ ।

हिजो (शुक्रबार) मध्यरातमा तीनकुनेको गैरीगाउँस्थित दीव्या सःमिलको टहरामा उक्त काठ मिलमा चौकीदारको काम गर्ने दोलखा घर भएका अन्दाजी ५५ वर्षीय कुमार भुजेल, उनकी पत्नी ५० वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका करिब २० वर्षीय युवक नवीन राईको हत्या गरिएको थियो । उनीहरुको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।

हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले २८ वर्षीय दीपेन्द्र राईलाई पक्राउ परेका छन् । उनी आफैं लुगामा रगत लतपत्तिएकै अवस्थामा प्रहरी कार्यालयमा पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot