काठमाडौं, ३० भदौ । मतिदेवीमा ३० वर्षदेखि रोकिएको लाखे नाच पुनः सञ्चालनमा आएको छ । बागमती प्रदेशमा सांसद एवं पूर्व संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ, कांगेस नेता कल्याण पाण्डेलगायतको पहलमा मैती लाखे नाच ३० वर्षपछि पुनः सञ्चालनमा आएको हो ।
युनाइटेड युवा क्लबको संयोजनमा मैती लाखे नाच पुनः सञ्चालन भएको हो । यसका लागि बागमती प्रदेश सरकारले आर्थिक सहयोग गरेको छ ।
मैती लाखे नाच समापन कार्यक्रममा बोल्दै बागमती प्रदेशका पूर्वसंस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले मैती लाखे नाच निरन्तरता दिन आफू लागि पर्ने बताए ।
नेपाल सांस्कृतिक सम्पदाले भरिपूर्ण र धनी देश भएकाले लाखे संस्कृतिलाई निरन्तरता दिन सदैव लागिरहने उनको भनाइ छ । मैती लाखे नाचलाई दिगो रुपमा सञ्चालन गर्नका लागि आर्थिक पक्ष व्यवस्थापन गर्न निरन्तर पहल गर्ने पूर्वमन्त्री श्रेष्ठले आश्वासन दिए ।
कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापा, काठमाडौं महानगरपालिका वडा नम्बर ३० का वडाध्यक्ष दलबहादुर कार्कीलगायतलाई आमन्त्रण गरिएको थियो ।