Logo

नेम्वाङ परिवारलाई समवेदना दिन झलनाथ खनाल र शंकर पोखरेल बालुवाटारमा



काठमाडौं,३१ भदौ । नेकपा एमालेका दिवंगत उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको परिवारलाई समवेदना दिन नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र एमाले महासचिव शंकर पोखरेल एकैसाथ नेम्वाङ निवास बालुवाटार पुगेका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका खनाल र महासचिव पोखरेलले आज बिहान बालुवाटार पुगेर नेम्वाङको परिवारलाई समवेदना व्यक्त गरेका हुन् ।

स्वर्गीय नेम्वाङ र खनाल एउटै जिल्ला इलामबाट राजनीतिमा उदाएका नेता हुन् । खनालले नै नेम्वाङलाई राजनीतिमा ल्याएका थिए । खनालले नै राजनीतिमा ल्याएपनि नेम्वाङ र खनाल पछिल्लो समय अलग अलग पार्टीमा रहेका छन् ।

नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा एसमा सम्मानित नेताको दर्जामा रहेका खनाल र एमालेमा उपाध्यक्ष तथा संसदीय दलको उपनेताको भूमिकामा रहेका नेम्वाङ दुबै कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउने अभियानमा लागेका नेताहरुमध्येमा पर्ने गर्दछन् । पछिल्लो समय आफ्नै पार्टी नेतृत्वसँग असन्तुष्ट रहेका खनाल एमाले नेताहरुसँगको भेटवार्तालाई महत्वका साथ लिँदै आएका छन् ।

नेम्वाङको गत मंगलबार ७१ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको थियो । उनको राजकीय सम्मानका साथ गत बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot