काठमाडौं, ३१ भदौ । महालेखा परीक्षक कार्यालयको प्रतिवेदनमा उल्लेख बेरुजु सार्वजनिक लेखा समितिले अध्ययन गर्ने भएको छ । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले महालेखाको ४४देखि ६०औं प्रतिवेदनमा उल्लेख भएको बेरुजुलाई विभिन्न उपसमिति बनाएर अध्ययन गर्न लागेको हो ।
२१ वटा मन्त्रालय र २० वटा संवैधानिक आयोगको बेरुजु अध्ययन गर्न लेखा समितिले विभिन्न ९ वटा क्लष्टर छुट्याएर उपसमिति बनाएको समितिका सभापति ऋषिकेश पोखरेलले बताए ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६०औं प्रतिवेदनअनुसार यो वर्ष ६ हजार ५४६ निकायको ७१ खर्ब ३८ अर्ब १६ करोड ७४ लाखको लेखापरीक्षण भएको थियो ।
संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थागततर्फ लेखा परीक्षणमा औँल्याइएको कूल अद्यावधिक बेरुजु ५ खर्ब ८७ अर्ब ३३ करोड ९४ लाख रहेको छ । महालेखाको प्रतिवेदनमा गत वर्षभन्दा २१.४५ प्रतिशतले बेरुजु बढेको उल्लेख छ ।