Logo

आम विद्यार्थी मोर्चाले संविधान दिवसको विरोधमा अन्त्येष्टि यात्रा निकाल्ने



काठमाडौं, १ असोज । आम जनता पार्टी (आजपा) निकट आम विद्यार्थी मोर्चाले संविधान दिवसको विरोधमा अन्त्येष्टि यात्रा निकाल्ने भएको छ । मोर्चाका अध्यक्ष विवेक साहले देश बचाउन वर्तमान संविधान र व्यवस्थाको अन्त्येष्टिको घोषणा हुन आवश्यक रहेको बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण भएदेखि अहिलेसम्म देश प्रगतितर्फ नभएर अधोगतितर्फ धकेलिएको उनको आरोप छ । राजनीतिक अस्थिरता, द्वन्द्व र दलीय भागबण्डाको खेलले देश अवस्त व्यवस्त भएको र संघीय लोकतान्त्रिक गणतन्त्र हात्तीको देखाउने दाँतमै सीमित भएको उनको टिप्पणी छ ।

संघीयता पहिचान र अधिकारविहीन रहेको उनले बताए । देशमा लोकतन्त्रको शासन नभएर दलका नेता र तिनका आसेपासेहरुको शासन रहेको उनको आरोप छ ।

‘देशमा लोकतन्त्र होईन, दलतन्त्र हाबी भएको छ । दलका नेता र तिनका आसेपासेहरुको मात्रै शासन छ । सरकार भ्रष्टाचारमा लिप्त भइसकेको छ । कुनै पनि काम घुस र कमिसनविना सम्भव छैन । देश दिन दिनै असफलतातर्फ धकेलिँदै गएको छ । यो सबैको एउटैमात्र कारण हो नेपालको संविधान । जुन संविधानले देशलाई अधोगतितर्फ  धकेल्यो, असफलतातर्फ धकेल्यो,’– उनले भने ।

गलत संविधानकै कारण देश असफलतातर्फ अग्रसर भइरहेको टिप्पणी गर्दै उनले यो संविधान दिवसको औचित्य छ कि छैन भन्ने कुरा विचारणीय भएको बताए । देशको संकटग्रस्त अवस्थाले संविधानको विकल्प खोजिरहेको अवस्थामा सरकारले संविधान दिवसलाई उत्सवको रुपमा मनाउने घोषणा गरेको भन्दै उनले आपत्ति जनाए । उनले शलाई बचाउनका लागि यो संविधान र व्यवस्थाको अन्त्येष्टि जरुरी रहेको  बताए ।

‘देशलाई बचाउन वर्तमान संविधानको रक्षा होईन, यसको अन्त्येष्टि गर्नपर्छ । देशलाई निकास दिने नयाँ संविधान निर्माण गर्नुपर्छ । यो संविधानको विकल्प खोज्न र यो संविधान दिवसलाई जनस्तरबाट अस्वीकार गर्न जरुरी छ,’– उनले भने।



प्रतिक्रिया दिनुहोस्

Screenshot