Logo

उपराष्ट्रपति यादवसँग चिनियाँ प्रतिनिधि मण्डलको शिष्टाचार भेट



काठमाडौं, १ असोज । नेपाल भ्रमणमा रहेको कम्युनिष्ट पार्टी अफ चाइना (सिपिसी) को युनान प्रान्तको स्थायी समिति सदस्य तथा प्रान्तीय प्रचार विभाग प्रमुख जेङ यानको नेतृत्वको टोलीले आज उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग शिष्टाचार भेटवार्ता गरेको छ ।

भेटवार्ताका क्रममा दुई देशबीच रहिआएको सौहाद्र्रपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन चाल्न सकिने कदमबारे छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सो अवसरमा उपराष्ट्रपति यादवले नेपाल र चीनबीचको सम्बन्ध शान्तिपूर्ण, सहअस्तित्वका सिद्धान्त, मित्रता, आपसी सहयोग एवं साझेदारी, एकअर्काको आधारभूत चासो तथा संवेदनशीलताको जगमा बलियोसँग उभिएको बताए ।

उपराष्ट्रपति यादवले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहिआएको बताएका छन् । उनले गत अगस्तमा चीन भ्रमणका क्रममा युनान प्रान्तबाट पाएको अतिथि सत्कारको प्रशंसा गर्दै युनानको कुनमिङ्गमा सातौँ चाइना–साउथ एसिया एक्स्पोजिसन र २७औँ चाइना (कुनमिङ) इम्पोर्ट एन्ड एक्स्पोर्ट फेयर सफलतापूर्वक आयोजना गरेकामा टोलीसमक्ष धन्यवाद व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्