Logo

इलाम पुगेका सुहाङले गरे राजनीतिमा आउने संकेत



काठमाडौं,२ असोज । नेकपा एमालेले आज दिवंगत उपाध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको निधनमा सातै प्रदेशमा स्मृति सभा आयोजना गरेको छ ।

एमालेले आज केन्द्रदेखि सातै प्रदेशमा स्मृति सभा आयोजना गरेको हो । केन्द्रको स्मृति सभालाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका थिए । भने स्वर्गीय नेम्वाङको गृह जिल्ला इलाममा उपाध्यक्ष रामबहादुर थापा बादल पुगेका थिए ।

नेम्वाङको गृह जिल्ला इलाममा आयोजित कार्यक्रममा उपाध्यक्ष बादलसँगै नेम्वाङ पुत्र सुहाङ नेम्वाङ पनि पुगेका छन् । कार्यक्रममा बोल्दै सुहाङले राजनीतिक परिवारमा जन्मँदैमा आफूले अवसर पाउनुपर्छ भन्ने नठानेको तर, बुबाको सपना पूरा गर्न भने लागिरहने बताउँदै घुमाउरो रुपमा राजनीतिमा आउने संकेत गरेका छन् ।

‘म राजनीतिमा सक्रिय छैन, तर म बुबासँग हुर्केको हुँ, म राजनीतिक परिवारमा जन्मिएको र हुर्किएको हुँ, राजनीतिक परिवारमा हुर्किएँ भन्दैमा उसैले अवसर पाउनुपर्छ भन्ने म कदापि ठान्दिन’ उनले भने ।

सुहाङले अगाडि भने, ‘तर राजनीतिक जिम्मेवारी नहुँदा नहुँदै पनि, बुबाको सपना, बुबाले अधुरो छाड्नुभएको कार्यहरु, पूरा गर्नुपर्ने कार्यहरु म सामाजिक र कानुनी कुन हिसाबले अगाडि बढाउन सकिन्छ म हजुरहरुसँग हातेमालो गरेर अगाडि बढौं भनेर निवेदन गर्न चाहन्छु ।’

स्व. नेम्वाङले सधैँ लोकतन्त्र, संविधान र कानुनको शासन मजबुत होस् भन्ने चाहेको सुहाङले बताए ।

आफ्ना बुबाको मृत्युपछि आर्यघाटसम्मको व्यवस्थापनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली र राजकीय सम्मानका लागि सरकारलाई उनले धन्यवाद दिए ।

यस्तो छ नेम्वाङको स्मृतिमा सुहाङले इलाममा बोलेको पूरा अंश

म राजनीतिमा सक्रिय छैन । तर म बुबासँगै हुर्किएको हुँ । म राजनीतिक परिवेश र माहोलमा जन्मिएको हुँ । तर, म कदापी सोच्दिन कि राजनीतिक परिवारमा जन्मियो भन्दैमा उसैले अवसर पाउनुपर्छ भन्ने म ठान्दिन । तर, राजनीतिक जिम्मेवारी नहुँदा नहुँदैपनि बुबाको सपना, बुबाले अधुरो गर्नु भएको कार्यहरुमा म सामाजिक र कानूनी रुपबाट कुन हिसाबले अगाडि बढ्न सकिन्छ । म हजुरहरुसँग हातेमालो गरेर अगाडि बढ्न निवेदन गर्न चाहान्छु । जिल्लाको विकास गर्न म बाट गर्नुपर्ने सबै काम हुनेछन् । जिल्लाको विकासका लागि कसरी र के काम गर्न सकिन्छ हजुरहरुबाट मलाई त्यहि हिसाबले सल्लाह, सुझाव र सहयोग गरिदिनु होला । यस दुःखद घडिमा पानीमा भिजिभिजी चिसो हुँदा हुँदैपनि तपाईंहरु यहाँ उपस्थित हुनु भयो त्यसको लागि म हृदयदेखिनै धन्यवाद दिन चाहान्छु  मलाई हौसला दिनु होला। अहिलेसम्म बुवाले देशको परिवारको र इलामबासीको शिर निहुरिन दिनु भएन’, उनले भने, ‘म पनि बुवाले अपूरा छाडेका कामहरु अगाडि बढाउन तयार छु। मेरो परिवार र मैले कहिले पनि तपाईंहरुको शिर निहुरिन दिन्नौँ । 



प्रतिक्रिया दिनुहोस्

Screenshot