Logo

नेम्वाङको स्मृतिमा सातै प्रदेशमा ‘सुवास र संविधान’ कार्यक्रम सम्पन्न, कसले के भने ?



  • कमल बुढाथोकी 

काठमाडौं,२ असोज । संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष स्व। सुवासचन्द्र नेम्वाङको स्मृतिमा आज सातै प्रदेशमा विचार गोष्ठी सम्पन्न भएको छ ।

ऐतिहासिक संविधान सभाबाट संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका स्व। नेम्वाङको योगदानलाई केन्द्रमा राखी ‘सुवास र संविधान’ विषयमा प्रवचन कार्यक्रम आयोजना गरिएको हो ।

नेकपा एमाले केन्द्रीय कार्यालय, तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासल, ललितपुरबाट अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै कार्यक्रमको सुभारम्भ गरेका थिए । भने अन्य ६ प्रदेशमा पार्टीका उपाध्यक्षहरु सहभागी भएका थिए ।

पार्टी मुख्यालय च्यासलमा भएको कार्यक्रममा एमाले अध्यक्ष ओलीसहित अतिथि वक्ताका रूपमा नेकपा एसका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रकी नेतृ तथा पूर्व सभामुख ओनसरी घर्ती, संविधानविद् नीलाम्वर आचार्य लगायत उपस्थित भएका थिए ।

भने, अन्य ६ प्रदेशमा हुने विचार गोष्ठीमा पार्टीका उपाध्यक्षहरू प्रमुख वक्ताका रूपमा सहभागी भएका थिए । एमालेले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई मधेश प्रदेशको जनकपुर, कोशी प्रदेशको इलाममा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, लुम्बिनी प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवाली, गण्डकी प्रदेशमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल र कर्णाली प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे प्रमुख वक्ताका रूपमा खटाएको थियो ।

स्मृति सभामा उपस्थित वक्ताहरु कसले के भने ?

एमालेले आयोजना गरेको बागमती प्रदेशको सभामा बोल्दै पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्गीय नेम्वाङले संविधान जारी गर्न खेलेको भूमिकाको प्रशंसा गरेका थिए । कार्यक्रममा बोल्दै ओलीले देशमा देखिएको संकट टार्न प्रमुख राजनीतिक दलहरु एकजुट हुनुपर्नेमा जोड दिए ।

‘हामी संविधान दिवस पनि मनाइरहेका छौं । र, जुन संविधान बनाउँदा संविधान बनाउने संविधान सभाको अध्यक्ष सुवासचन्द्र नेम्वाङजी हुनुहुन्छ । यसपल्ट दुखद् कुरा हो । यस अगाडिका संविधान दिवसहरू हामी उहाँको उपस्थितिमा मनाइरहेका थियौं । यसपल्ट उहाँको उपस्थिति नभएर सुवास नेम्वाङ र संविधान भनेर संविधानमा सुवास नेम्वाङको पदचिन्ह के छ, उहाँको कन्ट्रिव्युसन के छ ? उहाँका चिन्हहरू के छ ? उहाँले दिनुभएको दिशा निर्देश, गोरेटको के छ ? उहाँका योगदानका पत्रहरु के छन् ? ती विषयहरुमा हामी छलफल गर्छौं, गरिरहेका छौं ।’ नेम्वाङलाई सम्झिँदै ओलीले भने

कार्यक्रममा प्रमुख वक्ताको रुपमा रहेका नेकपा एसका सम्मानित नेता झलनाथ खनाल र नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पनि नेम्वाङको राजनीतिक योगदानको सदैव सम्मान गरिनुपर्ने बताए । पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले नेम्वाङले कम्युनिष्ट पार्टीहरुबीच सदैव एकता चाहेको उल्लेख गर्दै टुक्रिएका पार्टीहरुलाई एकतावद्ध बनाउन एमालेले पहल गर्नुपर्ने बताएका छन् ।

गृह जिल्ला पुगेर नेम्वाङ पुत्र सुहाङले भने जिल्लाको विकासमा हातेमालो गर्न चाहन्छु

एमालेले स्वर्गीय नेम्वाङको स्मृतिमा गृह जिल्ला इलाममा आयोजना गरेको कार्यक्रममा बोल्दै नेम्वाङका कान्छा छोरा सुहाङले बुवाले पूरा गर्न बाँकी रहेका कामहरु आफूले कानूनी र सामाजिक माध्ययमबाट पूरा गर्न प्रतिवद्धता जनाएका छन् ।

‘म राजनीतिमा सक्रिय छैन, तर म बुबासँग हुर्केको हुँ, म राजनीतिक परिवारमा जन्मिएको र हुर्किएको हुँ, राजनीतिक परिवारमा हुर्किएँ भन्दैमा उसैले अवसर पाउनुपर्छ भन्ने म कदापि ठान्दिन’ इलाममा आयोजित कार्यक्रममा उनले भने ।

सुहाङले अगाडि भने, ‘तर राजनीतिक जिम्मेवारी नहुँदा नहुँदै पनि, बुबाको सपना, बुबाले अधुरो छाड्नुभएको कार्यहरु, पूरा गर्नुपर्ने कार्यहरु म सामाजिक र कानुनी कुन हिसाबले अगाडि बढाउन सकिन्छ म हजुरहरुसँग हातेमालो गरेर अगाडि बढौं भनेर निवेदन गर्न चाहन्छु । अहिलेसम्म बुवाले देशको परिवारको र इलामबासीको शिर निहुरिन दिनु भएन म पनि बुवाले अपूरा छाडेका कामहरु अगाडि बढाउन तयार छु। मेरो परिवार र मैले कहिले पनि तपाईंहरुको शिर निहुरिन दिन्नौँ ।’

मधेश पुगेका वरिष्ठ उपाध्यक्ष पोखरेलले भने मुलुकलाई संकटबाट जोगाउन एमाले एक्लैले बहुमत ल्याउनुपर्छ

नेम्वाङको स्मृति सभालाई सम्बोधन गर्न मधेश प्रदेशको राजधानी जनकपुर पुगेका एमाले वरिष्ठ उपाध्यक्ष ईश्व्र पोखरेलले देशलाई संकटबाट जोगाउन सरकारको नेतृत्व एमालेले गर्नुपर्ने जिकिर गरेका छन् ।

२०८४ सालमा हुने आम निर्वाचनमा पार्टीले एकल बहुमत ल्याउने पोखरेलको दाबी थियो । ‘देशलाई दुरावस्थाबाट जोगाउनका लागि एमाले एक्लैले बहुमत प्राप्त गर्नुपर्छ । त्यो तयारीमा लाग्नुपर्ने जरुरी छ । त्यसका लागि एमालेले अघि सारेका विचारहरुमा तलमाथि होइन । एमालेले अघि सारेका विचारहरुमा दृढतापूर्वक उभिनुपर्‍यो । विचारहरू कमजोर ढंगले समाउने, विचारका पक्षमा नउभिने अनि कमजोर ढंगले त्यो विचारलाई लिने हो भने हामी पार्टी बनाउन सक्दैनौं । मिसन २०८४ पुर्‍याउन सक्दैनौं,’ उनले भने ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले नेता नेम्वाङलाई संविधान निर्माण र राष्ट्रिय राजनीतिमा देखिएको संकट समाधानका नेताको रुपमा चित्रण गरे।

ठूलो दबाबका बीच पनि नेपालको संविधान जारी हुनुमा स्वर्गीय नेता नेम्वाङको महत्वपूर्ण योगदान रहेको उनको भनाइ थियो।

पूर्व मुख्यमन्त्री अष्टलक्ष्मीले भनिन सबैलाई मिलाउन सक्ने खुबीकै कारण देशले समयमै संविधान पायो

एमाले गण्डकी प्रदेशले आयोजना गरेको कार्यक्रममा प्रमुख वक्ताको रुपमा उपस्थित भएकी अर्की उपाध्यक्ष तथा बागमती प्रदेशकी पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पनि नेम्वाङको प्रशंसा गर्दै योगदानको पार्टीले उचित कदर गर्ने बताईन् ।

‘सुवास नेम्वाङसँग सबैलाई मिलाउन सक्ने खुबी थियो, उहाँको त्यही खुबीका कारण नै तत्कालिन अबस्थामा संविधान जारी हुन सकेको हो,’ शाक्यले भनिन्, ‘उहाँको प्रभाबशाली र शालिन शैली सबैका लागि अनुकरणीय छ ।’

स्मृति सभामा एमाले सचिव तथा गण्डकी इन्चार्ज गोकर्ण बिष्टले संविधानसभाको असहमतिका दर्जनौं बुदालाई सहमतिमा परिणत गर्दै सर्वस्वीकार्य समाधान निकाल्ने खुवी सुबास नेम्बाङ भएको उल्लेख गरेका छन् ।

कर्णाली पुगेका पूर्व अर्थमन्त्री पाण्डेले भने एमालेले कोशेढूंगा गुमायो

एमालेका अर्का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डले पनि नेम्वाङले एमालेप्रति लगाएको गुण सदैव सम्झिरहने बताए । स्मृति सभालाई सम्बोधन गर्न सुर्खेतको विरेन्द्रनगर पुगेका पाण्डेले नेम्वाङको निधनले पार्टीलाई निकै ठूलो क्षति पुगेको बताए ।

‘संविधान जारी नभएको भए देश कता जान्थ्यो होला ? यसरी सुवास पृथक् भएर उभिँदा संविधान जारी भयो । संघ र प्रदेश चलाउने हिसाबले संविधान जारी भएको छ । सातवटा प्रदेश विभाजनमा पनि सुवासको महत्त्वपूर्ण योगदान छ । सुवासको निधनले हाम्रो पार्टी एमालेले राजनीतिको कोसेढुङ्गा गुमाएको छ’ । नेम्वाङलाई सम्झिँदै पाण्डेले भने

विरेन्द्रनगरकै कार्यक्रममा एमाले सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टले स्वर्गीय नेम्वाङले लगाएको गुनप्रति सदैव पार्टी ऋणी रहने बताएका छ्न । उनले भने ‘उहाँ नेपालका लागि महात्मा गान्धी हुनुहुन्थ्यो । नेपालको सन्दर्भमा, कार्यपालिका, न्यायपालिकाको भूमिका उहाँले जस्तो कसैले गरेका छैनन् । देशलाई ठूलो गुन लगाउनुभएको छ । उहाँप्रति कुनै गुनासो छैन । देशले राजनेता गुमाएको छ । उहाँप्रति पार्टी सधैँ ऋणी रहनेछ’ ।

नेम्वाङको निधनले एमाले र देश दुबैलाई अतुलनीय क्षति भयो 

एमालेका अर्का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले नेम्वाङको निधनले एमाले पार्टीलाई मात्र नभएर सिंगो देशलाई नै अतुलनीय क्षति पुगेको बताए ।

सुदूरपश्चित प्रदेशको राजधानी धनगढीमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन् । । ‘नेम्वाङ संविधान सभाका नेतृत्वकर्ता थिए नै, उहाँमा जस्तो सुकै असहज परिस्थितिको सामना सालिनता पूर्वक गर्ने सामर्थ्य थियो। फरक फरक सिद्धान्तका राजनीतिक दलहरूका बीचमा राष्ट्रिय सहमतिका लागि तयार पार्ने प्रतिभा उहाँमा थियो’, पौडेलले भने।

 



प्रतिक्रिया दिनुहोस्