Logo

सूर्यविनायक-रत्नपार्क सडकमा द्रुत बस सेवा सुरू (तस्बिरहरु)



काठमाडौं, ३ असोज । सरकारले काठमाडौं उपत्यकामा द्रुत बस सेवा सुरु गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संविधान दिवसको अवसर पारेर बुधबार रत्‍नपार्क-सूर्यविनायक रुटमा द्रुत बस सेवा सुरु गरेको हो।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले रत्‍नपार्कमा द्रुत बस सेवाको उदघाटन गरे। उद्‍घाटनपछि मन्त्री ज्वाला, वाग्मती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ लगायत बसमा यात्रा गरेका थिए।

द्रुत बस सञ्चालनका लागि पहिलेका सडक लेनलाई परिवर्तन गरी फरक मार्किङ गरिएको छ। द्रुत बसहरू चल्ने लेनमा दुई–दुई सय मिटरमा रेड मार्क गरिएको छ। सडक विभागका अनुसार यो लेनमा दैनिक बिहान ९ बजेदेखि ११ बजे र साँझ ४ बजेदेखि ६ बजेसम्म द्रुत बससेवा सञ्चालन हुनेछ।

द्रुत सवारी चलेको समयमा यो मार्ग खाली राखिने र त्यहाँ चल्ने बसहरू एम्बुलेन्ससरह कुनै जाममा बस्नु नपर्ने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। सडक विभागले राती र दिउँसो गरी सडकमा मार्किङको काम गरिरहेको छ। यो सडकमा चलाउन लागि यातायात व्यवस्था विभागलाई २५ वटा ठूला बसको व्यवस्थापन गर्ने जिम्मेवारी मन्त्रालयले दिएको छ।

सरकारले ट्राफिक व्यवस्थापनका लागि कार्यालय समयलाई ध्यानमा राखी द्रुत बस सेवा सञ्चालनमा ल्याएको हो। त्यसबाहेकको समयमा भने यो लेनमा सबै प्रकारका सवारीसाधन चल्न पाउनेछन्।

तस्बिरहरु- मुकुन्द कालिकोटे: रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्