Logo

राज्यले लाखौं शिक्षकको आवाज सुन्न र भावना बुझ्न ढिलाइ गर्नुहुन्नः कांग्रेस महामन्त्री शर्मा



काठमाडौं,३ असोज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शिक्षा विधेयकको विरोधमा सडकमा उत्रिएका शिक्षकहरुको उचित माग सम्बोधन गर्न सरकार तयार हुनुपर्ने बताएका छन् ।

बुधबार सामाजिक सञ्जालमा आफ्ना धारणा सार्वजनिक गर्दै शर्माले बर्षौंपछि निर्माण हुँदै गरेको संघीय शिक्षा ऎन मार्फत बर्षौंदेखि अल्झिएका समस्याको हल खोज्नुपर्ने बताएका हुन् ।

उनले भनेका छन् ‘शिक्षक आन्दोलनले अघि सारेका न्यायोचित माग सम्बोधन गरिनुपर्छ । बर्षौंपछि निर्माण हुँदै गरेको संघीय शिक्षा ऎनमार्फत बर्षौंदेखि अल्झिएका समस्याको हल खोज्नैपर्छ १ हामी लोकतान्त्रिक राज्यप्रणालीमा छौं, एक व्यक्ति मात्रको आवाज पनि सुन्ने कर्तव्य राज्यको हुन्छ भने लोकतान्त्रिक राज्यले लाखौं शिक्षकको आवाज सुन्न र भावना बुझ्न ढिलाइ गर्नुहुन्न ।’

शिक्षकको आत्मसम्मान अभिवृद्धि गर्ने/गराउने कर्तव्य राज्यको भएको उनले बताएका छन्।

‘प्रत्येक विद्यार्थीको शैक्षिक भविष्यमा नकारात्मक असर पर्न नदिने अभिभावकत्व शिक्षकको प्रधान दायित्व हो। संवादमार्फत तत्काल समाधान खोजेर विद्यालय अविलम्ब सुचारू गर्न गराउन सरकार र शिक्षक नेतृत्वलाई अपिल गर्दछु,’ उनले भनेका छन्।

गत हप्ता सरकारले संसदमा दर्ता गरेको विधेयकप्रति शिक्षहरु आन्दोलित भइरहेका छन् । शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघले आन्दोलनको नेतृत्व गरिरहेको छ । महासंघको नेतृत्वमा आजबाट काठमाडौं केन्द्रीत आन्दोलन सुरु भइको हो ।



प्रतिक्रिया दिनुहोस्