Logo

क्रान्तिका उपलब्धिको रक्षा र विकासका लागि वामपन्थी शक्तिहरू एकताबद्ध हुनु आवश्यक छः रामकुमारी झाँक्री



काठमाडौं,३ असोज । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले विभिन्न आन्दोलनका बलमा प्राप्त भएका उपलब्धिलाई जोगाउन सबै वामपन्थीहरु मिल्नुपर्ने बताएकी छन् ।

नवौं संविधान दिवसको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै पूर्व शहरी विकासमन्त्रीसमेत रहेकी झाँक्रीले अहिले नयाँ संविधान कार्यन्वयनको दशक भएको बताएकी छन् । उनले संविधानको मर्म र भावनालाई आत्मसात गर्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताएकी छन् । ‘ परिवर्तनकामी हामी राजनीतिक दल र हाम्रा गलत अभ्यासले संबैधानिक संकटको स्थिती सिर्जना नहोस भन्ने कुरामा सचेत बन्नुपर्छ’ आफ्नो शुभकामना सन्देशमा झाँक्रीले भनेकी छन् ।

नेकपा एसकी सचिव रहेपनि झाँक्री हाल पार्टीको सक्रिय भूमिकामा छैनन् । पार्टीले गत हप्त जारी गरेको अन्तर पार्टी निर्देशनमा झाँक्रीलाई अमेरिका र ल्याटिन अमेरिकाको प्रवास हेर्ने क्षेत्रको भूमिका दिइएको छ । तर उनी उक्त जिम्मेवारीप्रति सन्तुष्ट छैनन् । उनले पछिल्लो समयमा नेकपा एमालेसहितका बामपन्थी दलहरुबीच एकता हुनुपर्नेमा जोड दिँदै आएकी छन् ।

संविधान दिवसमा यस्तो छ झाँक्रीले जारी गरेको शुभकामना सन्देश

आज असोज ३ गते!

नेपाली पूँजीवादी क्रान्ति २००७ साल र त्यस भन्दा अगाडी विभिन्न समयमा भएका विविध स्वरूपको बिद्रोहबाट सुरू भएको हो। २०४६ सालको ऐतिहासिक जनआन्दोलन हुदै सशस्त्र युद्ध र शान्तिपूर्ण जनविद्रोहले २०६२-६३ सालमा ऐतिहासिक जनक्रान्तिको रूपग्रहण गरेको हो। यहि २०६२-६३ सालको ऐतिहासिक जनक्रान्तिसम्म आईपुग्दा नेपाली समाजको पूँजीवादी क्रान्तिको युग पनि पुरा भएको छ। यिनै क्रान्तिका उपलब्धिलाई संस्थागत गर्ने दस्तावेज २०७२ सालमा आजकै दिन जारी गरिएको हो। त्यो मूल दस्तावेज नै संविधान हो।

प्रतिक्रान्तिकारीहरूले क्रान्तिका उपलब्धिलाई अवमूल्यन गर्दै, यो केही होइन, के भयो र? अझै बिग्रियो, हामीले के पायौँ? जनताले के पाए? गणतन्त्रले के दियो? यो संविधानले के दियो? सबै उस्तै त हुन्, सयौँ राजा बने‘ भन्ने जस्ता भाष्य खडा गरेका छन्। कतिपय बेला यो परिवर्तनको लागि संघर्ष गरेका क्रान्तिकारीहरू पनि बहकिएको देखिन्छ। उतै लोलीमा बोली मिलाउन खोज्छन। तर हामी सचेत बनौ। क्रान्तिका उपलब्धिको रक्षा र विकासका लागि बामपन्थि शक्तिहरू एकताबद्ध हुनु आवश्यक छ। बाम-लोकतान्त्रिक शक्तिहरूले मिलेर प्रतिस्पर्धामा काम गर्नुपर्छ। तब मात्र जनताले फरक अनुभूति गर्ने गरी काम गर्न सकिन्छ।यो संविधान कार्यन्वयनको दशक पनि हो।

त्यसैले संविधानको मर्म र भावनालाई आत्मसात गर्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनु हाम्रो कर्तव्य हो। परिवर्तनकामी हामी राजनीतिक दल र हाम्रा गलत अभ्यासले संबैधानिक संकटको स्थिती सिर्जना नहोस भन्ने कुरामा सचेत बन्नुपर्छ। संविधान त गतिशिल र परिवर्तनशिल दस्तावेज हो भन्ने कुरालाई स्वीकार गर्दै प्रभावकारी कार्यान्वयनका लागि सबैले संकल्प गरौं।
संविधान दिवशको हार्दिक शुभकामना! 



प्रतिक्रिया दिनुहोस्