Logo

संविधानले देशलाई दुर्घटनातर्फ लगिरहेको छः पूर्वमन्त्री न्यौपाने



काठमाडौं, ३ असोज । आम जनता पार्टीले नवौं संविधान दिवसको अवसरमा ‘नेपालको संविधानः साधक कि बाधक’ विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा पूर्व उपप्रधानमन्त्री, मन्त्री, नागरिक समाजका अगुवा, संविधानविद्लगायतले आफ्नो धारणा राखेका थिए ।

आम जनता पार्टीका वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेले संविधानले देशलाई दुर्घटनातर्फ लगिरहेको टिप्पणी गरे । संविधानले तीनै तहले कानुन बनाउने अधिकार प्रदान गरेर झनै अन्यौलता सिर्जना गरेको उनको आरोप छ । उत्कृष्ट भनेको संविधानले जनताको समस्यालाई सम्बोधननै गर्न नसकेको उनले बताए । पहिले राजतन्त्रमा रहेको निरङ्कुशता संविधान बनेपछि दलतन्त्रमा सरेको उनले बताए ।

‘पहिला राजतन्त्र फ्याँक्नुपर्छ भनेर धेरै आन्दोलन भयो । राजाको पालामा पनि चुनाव हुन्थे । त्यतिखेर राजतन्त्रको निरङ्कुशता रहन्थ्यो, अहिले दलतन्त्रको निरङ्कुशता छ,’– उनले भने ।

उनले संविधानकै प्रावधानअनुसार न्यायपालिकामा न्यायाधीशहरु पार्टीको भागबन्डामा नियुक्ति हुने गरेको बताउँदै दलका तर्फबाट नियुक्त भएका न्यायाधीशले निश्पक्ष न्याय प्रदान गर्न नसक्ने बताए ।

अहिलेको संविधानले देश अगाडि बढ्न नसक्ने बताउँदै उनले यो संविधान परिवर्तन गरेर जनताबाट प्रत्यक्ष रुपमा निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणाली अबलम्बन गर्न आवश्क रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot