Logo

०४७ सालको संविधानमा फूलबुट्टा भरेर नेपालको संविधान जारी गरियोः संविधान सभा सदस्य थापा मगर



काठमाडौं, ३ असोज । आम जनता पार्टीले नवौं संविधान दिवसको अवसरमा ‘नेपालको संविधानः साधक कि बाधक’ विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा पूर्व उपप्रधानमन्त्री, मन्त्री, नागरिक समाजका अगुवा, संविधानविद्लगायतले आफ्नो धारणा राखेका थिए ।

आम जनता पार्टीका उपाध्यक्ष एवं संविधान सभा सदस्य तिलक थापा मगरले संविधान दिवसको अवसरमा खुसी मनाउन नसकिएको बताए । जनताका प्रतिनिधिमार्फत् संविधान सभाबाट जारी भएको संविधान पनि उत्कृष्ट हुन नसकेको भन्दै उनले दुःख व्यक्त गरे ।

पहिलो संविधान सभाले जनताको पक्षमा कसरी संविधान निर्माण गर्न सकिन्छ भनेर व्यापक वहस भएको उनले स्मरण गरे । विगतमा जस्तो अब संविधानका लागि आन्दोलन गर्न नपरोस् भनेर पहिलो संविधान सभामा आफूहरु गम्भीर भएको उनले बताए । दोस्रो संविधान सभाबाट जारी भएको संविधानले जनताका समस्या र सामाजिक मुद्दाहरुलाई सम्बोधन गर्न नसकेको उनको आरोप छ । २०४७ सालको संविधानमै फूलबुट्टा भरेर नेपालको संविधान (२०७२) जारी गरिएको उनको आरोप छ ।

‘हामीले भनेका थियौं, जातीय, वर्गीय र क्षेत्रीय र लैङ्गिक रूपले विभेद छ । यति चार वटा विभेदलाई हल गर्नपर्छ भनेका थियौं । तर, २०७२ को संविधान जारी हुँदा यसलाई हल गर्ने काम भएन । उल्टो २०४७ सालको संविधानमा यताउता फूलबुट्टा भर्ने काम भयो,’– उनले भने ।

उनले २०७२ सालमा बनेको संविधान दलतन्त्रमा आधारित र दलाल पुँजीवादी चरित्रको भएको भन्दै नेपाल राष्ट्र र नेपाली जनताको हितमा काम गर्न नसक्ने ठोकुवा गरे । उनले नेपालको संविधान नेपाली जनताले यो हाम्रो संविधान हो भनेर स्वीकार गर्न नसकिरहेको बताए । यो

लोकतन्त्रमा आधारित संविधान भएर दलतन्त्रमा आधारित संविधान भएको उनको भनाई थियो । अहिलेको संविधान साधक नभएर बाधक बनेको उनको टिप्पणी छ । जनताको पक्षमा संविधान ल्याउनका लागि आफूहरुले अभियान सुरु गरेको बताए ।

‘यो संविधान काम लाग्दैन । त्यसैले यो संविधानको विकल्पमा अब हामीले अर्को संविधान बनाउन पर्छ । विद्रोहमार्फत आम जनताको सहअस्तित्व र अधिकार सुनिश्चित हुनेखाल्को संविधान निर्माण हुनुपर्छ भन्ने उद्धेश्यकले हामी अभियानमा लागेका छौं,’– उनले भने ।

उनले नेपालको संविधान मृत भइसकेको टिप्पणी गर्दै अब संविधानलाई मृत घोषणा गरेर अगाडि बढ्न पर्ने आवश्कता औंल्याए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot