Logo

संसदीय व्यवस्थाबाट देश अगाडि बढ्न सक्दैन, प्रत्यक्ष कार्यकारी व्यवस्थामा जानुपर्छः सुन्दरमणि दीक्षित



काठमाडौं, ३ असोज । आम जनता पार्टीले नवौं संविधान दिवसको अवसरमा ‘नेपालको संविधानः साधक कि बाधक’ विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा पूर्व उपप्रधानमन्त्री, मन्त्री, नागरिक समाजका अगुवा, संविधानविद्लगायतले आफ्नो धारणा राखेका थिए ।

नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले सात सालदेखि अहिलेसम्म धेरै संविधान बनेर काठमाडौंमा दीप प्रज्वलन भएपनि त्यसले तराईमा अन्धकार कायमै राखेको टिप्पणी गरे । नेपालको संविधान २०७२ जनताको हितमा नभएको पुष्टि भइसकेको उनको भनाई छ ।
‘यो संविधानले मुलुकलाई अगाडि लैजान्छ ठान्थ्यौं हामीले । युवा छैनन्, पैसा छैन, विद्यार्थी बाहिर, कामदार बाहिर । खेत बाँझो छ । केही नेताहरु फस्टाएका छन् । को कुनबेला सत्तामा पुग्ने भनेर बसिरहेका छन् । यो संविधान जनताको हितका लागि पटक्कै भएको रहेनछ,’– उनले भने ।

संसदीय व्यवस्थाको तोकतन्त्र नेपालको हीतमा नरहेको उनको दाबी छ । सात सालमा लादिएको संसदीय व्यवस्था २०६२÷०६३ को आन्दोलन र संविधान सभाबाट जारी भएको संविधानले पनि स्वीकार गर्नुनै दूर्भाग्य भएको उनले बताए ।

‘अब सबैभन्दा जरुरी कुरा हाम्रो संसदीय व्यवस्थाको डेमोक्रेशी नेपालमा चल्दैचल्दैन । अब बुझ्ने बेला भयो दलहरुले पनि । यो संसदीय व्यवस्था चल्दैन । यो हामीलाई सात सालमा लादियो । त्यही कुरा हामीले निरन्तर गर्यौ । अहिलेको समस्या यही हो । संसदीय व्यवस्थाको ७२ वर्षमा यसले हामीलाई यो अवस्थामा पुर्यायो,’– उनले भने ।

राजनीतिमा नयाँ पार्टी उदाय पनि संसदीय व्यवस्थाले फस्टाउन नदिएको उनको दाबी छ । संसदीय व्यवस्थाले राम्रो र असल मान्छेलाई कार्यकारी बनाउन नसकेको उनको टिप्पणी छ । संविधानको मात्रै विकल्प खोज्ने नभएर व्यवस्थाकै विकल्प खोज्न आवश्यक रहेको उनले बताए ।

संविधान र व्यवस्थाका बारेमा बौद्धिक वर्गले विश्लेषण गर्ने बेला आएको उनले बताए । अहिलेको संविधान कच्चा रहेको उनको टिप्पणी छ ।
‘यो संसदीय व्यवस्था काम लागेन । त्यसकारण हामीले कार्यकारीतिर जानैपर्छ, तत्काल जानपर्छ । त्यो नजाने हो भनेदेखि अर्को कू हुन्छ यहाँ,’– उनले भने ।

अझैपनि संसदीय व्यवस्थाका वकालत गर्नेले ७२ वर्षसम्म देश कहाँ पुग्यो भन्नेकुराको जवाफ दिनुपर्ने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot