Logo

आन्दोलनमा जाने शिक्षकलाई कारबाही गर्ने बालेनको चेतावनी



काठमाडौं, ३ असोज । संसद्मा दर्ता भएको संघीय शिक्षा विधेयकलाई लिएर यतिबेला देशभरका शिक्षकहरु आन्दोलनरत छन् । उनीहरुले शिक्षा विधेयकमा आफ्ना माग र मुद्दा नसमेटिएको भन्दै आजबाट काठमाडौं केन्द्रीत आन्दोलन थालेका हुन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा भएको भइरहेको आन्दोलनमा हजारौं शिक्षकहरु सहभागी छन् ।

काठमाडौं महानगरले भने विद्यालय बन्द गराएर आन्दोलनमा सहभागी भए शिक्षकलाई कारबाही गर्ने बताएको छ । महानगर प्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत विद्यालय सञ्चालनमा अवरोध पुर्याउने शिक्षकलाई कानुन बमोजिम कारबाहीको चेतावनी दिएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्ः

शिक्षा बिधयकमा हाम्रो नि असहमती छ । लगभग २ लाख ५० हजार हजार विद्यार्थी तथा १०००० भन्दा धेरै शिक्षक हाम्रो मातहतमा छ ।
आधारभूत र माध्यमिक शिक्षा स्थानीय सरकारको एकल अधिकारको रूपमा रहेकोले विद्यालय शिक्षा ऐन बनाउने अधिकार पनि स्थानीय सरकारमा निहित रहेको छ किन कि काठमाडौको शिक्षा को नीति र जुम्ला को नीति र आवश्यकता फरक हुन्छन् ।

संघीय तहले प्रस्तुत गर्नुपर्ने विधेयक संघीय संसद्मा दर्ता गर्नु नै संविधानको बर्खिलाप हो। संघीय सरकारले संघीय शिक्षा ऐन तर्जुमा गरी राष्ट्रिय शिक्षा नीति तथा मापदण्ड बनाउनुको साटो विद्यालय शिक्षा विधेयक ल्याउनु संवैधानिक प्रावधान विपरीत रहेकोले किमार्थ स्वीकार गर्न सकिँदैन । स्थानीय सरकारले प्रयोग गरिरहेको माध्यमिक शिक्षासम्मको विधायिकी र कार्यकारी अभ्यासबारे सम्मानित अदालतका फैसलाहरूबाट समेत नजिर स्थापित भइसकेको स्मरण गराउन चाहन्छौँ।

तर यति भन्दै गर्दा शिक्षकले स्कुल बन्द गरेर पठन पाठन मा अबरोध नपुराउनु होला । यस्ता अबरोध पुराउनेहरुलाइ कानुन (संविधान) अनुसार कारबाही हुनेछ ।



प्रतिक्रिया दिनुहोस्