Logo

बालेनको चेतावनी नमान्ने काठमाडौंका प्रधानाध्यापकको उद्घोष, माइतीघरमै नियमित हाजिर गर्ने घोषणा



काठमाडौं,३ असोज । सरकारले संसद्मा गत हप्ता दर्ता गराएको नयाँ शिक्षा विधेयकप्रति असन्तुष्ट रहँदै आएका सामूदायिक विद्यालयका शिक्षकहरु आजबाट शहर केन्द्रीत आन्दोलनमा उत्रिएका छन् ।

नेपाल शिक्षक महासंघको नेतृत्वमा देशैभरबाट हजारौ शिक्षकहरु काठमाडौंको सडकमा उत्रिँदा ट्राफिक व्यवस्ता अस्तव्यस्त बनेको छ । भने सर्वसाधरण नागरिकले हैरानी खेप्नु परेको छ । शिक्षकहरु विद्यार्थी पढाउन छोडेर शहर केन्द्रीत आन्दोलनमा लागेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै शिक्षकहरुलाई आन्दोलनमा सहभागी नहुन आग्रह गरेका छन् ।

उनले आज सामाजिक सञ्जालमार्फत विद्यार्थीको पठनपठन प्रभावित बनाएर आन्दोलनमा उत्रिए कारबाही गर्ने चेतावनीसमेत दिएका थिए । ‘शिक्षकले स्कुल बन्द गरेर पठनपाठनमा अवरोध नपुर्‍याउनुहोला । यस्ता अवरोध पुर्‍याउनेहरूलाई कानुन (संविधान) अनुसार कारबाही हुनेछ’ । बालेनले फेसबुकमा लेखेका छन् ।

यद्यपि बालेनको चेतावनीलाई समेत चूनौती दिँदै काठमाडौं महानगरपालिकाभित्रका सामूदायिक विद्यालयका प्रधानाध्यापकहरू आन्दोलनमा उत्रिएका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै महानगरका प्रधानाध्यापकहरूले शिक्षक महासंघले सुरु गरेको आन्दोलनमा समर्थन गर्दै त्यसमा सहभागी हुने जनाएका छन् ।

‘नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन गरी देशैभरिको विद्यालय अनिश्चित रूपमा बन्द गरी सशक्त आन्दोलनमा जाने भनि सुरु गरेको कार्यक्रमहरूलाई समर्थन गर्दै अर्को सूचना नभएसम्मका लागि काठमाडौं महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयको प्रधानाध्यापकहरूको बैठकको निर्णय गरेकाले माइतीघर मण्डलामा नियमित हाजिर हुने गरी सम्पूर्ण शिक्षक कर्मचारीहरू उपस्थित हुन अनुरोध गर्दै विज्ञप्ति जारी गरिएको छ’। विज्ञप्तिमा भनिएको छ ।

काठमाडौंका प्रअहरुले आन्दोलनका क्रममा विद्यार्थीलाई पुग्ने शैक्षिक क्षति प्रति संवेदनशील हुदै उक्त क्षतिलाई परिपूर्ति गर्न विदाका दिनमा पठनपाठनमा गरिने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्