Logo

शिक्षकको आन्दोलनले एकीकृत समाजवादीका नेताहरु सडकमै रोकिए, सचिवालय बैठक स्थगित



काठमाडौं,४ असोज । आजका लागि बोलाईएको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित भएको छ । आज बिहान ११ बजे बस्ने तय भएको बैठक शिक्षकहरुको आन्दोलनका कारण स्थगित भएको नेकपा एसले जनाएको छ ।

गत हप्ता सरकारले संसद्मा दर्ता गराएको नयाँ शिक्षा ऐनलाई दिएर देशैभरका सामूदायिक विद्यालयका शिक्षकहरु आन्दोलनमा होमिएका छन् । बुधबारबाट देश भरिका शिक्षकहरु काठमाडौं केन्द्रीत आन्दोलनमा उत्रिएका छन् ।

शिक्षकहरुको आन्दोलनका कारण सडक अस्तव्यस्त भएर नेताहरु बैठकमा आउन नसक्ने भएपछि बैठक स्थगित भएको एक नेताले जानकारी दिए । आज स्थगित बैठक पुनः अर्को मिति तय गरेर बस्ने बताइएको छ ।

गत हप्ता पार्टी अध्यक्ष माधवकुमार नेपालले नेताहरुको कार्य विभाजन गर्दै अन्तर पार्टी निर्देशन (अपानी) जारी गरेपछि नेताहरुमा असन्तुष्टि बढिरहेको छ । सम्मानित नेता झलनाथ खनालले अध्यक्ष नेपालले एकलौटी गरेको भन्दै नेताहरूको कार्यविभाजन सच्याउन माग गर्दै आइरहेका छन् ।यस्तै बैठकमा १४ असोजदेखि सुरू हुने समाजवाद जागरण यात्राबारे पनि छलफल हुने भनिएको थियो ।



प्रतिक्रिया दिनुहोस्