Logo

आन्दोलनरत शिक्षकहरुलाई रास्वपाले भन्यो: विद्यार्थीको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर



काठमाडौं,४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद्मा दर्ता भएको शिक्षा विधेयकलाई लिएर देशैभर आन्दोलनमा होमिएका शिक्षकहरुको आन्दोलनप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

रास्वपाका प्रवक्ता डा.मुकुल ढकालले बिहीबार एक विज्ञप्ति जारी गर्दै शिक्षकहरुको उक्त आन्दोलनप्रति संवेदनशील रहेको र विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० का सम्बन्धमा विभिन्न सरोकारवाला निकायहरूसँग निरन्तर छलफल गरिरहेको जनाएको छ । रास्वपाले सरोकारवाला र विज्ञहरुसँग परामर्श गरी यस विधेयकका सम्बन्धमा आफ्नो धारणा तथा संशोधन प्रस्ताव संसद्मा राख्ने पनि रास्वपाले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पाटीको पहिलो प्राथमिकता विद्यार्थीको भविष्य रहेको उल्लेख गर्दै रास्वपाले शिक्षकहरुले आफ्ना मागहरु सरकारसमक्ष राख्न पाउने वैकल्पिक विधिहरु हुँदा हुँदै विद्यार्थीहरुको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्नसमते शिक्षकलाई आग्रह गरेको छ ।

‘तर शिक्षकहरूले आफ्नो पेशागत हकहितका लागि एकजुट हुने नाममा राजनीतिक दलको भ्रातृ संगठनका रूपमा रहन नहुने हाम्रो नीति रहेको छ। शिक्षकहरूको पेशागत विकासका मागहरूमा हामी एकै ठाउँमा उभिन तयार छौं,’ रास्वपाले भनेको छ।

यस्तो छ शिक्षा विधेयका सम्बन्धमा रास्वपाले जारी गरेको प्रेस विज्ञप्ति

हालै संसदमा दर्ता भएको शिक्षा सम्बन्धी विधेयकको विरोध गर्दै देशभरबाट शिक्षकहरूले काठमाडौँमा थालेको आन्दोलनप्रति हामी संवेदनशील रहेको सम्बन्धित सबै सरोकारवालालाई अवगत गराउन चाहन्छौं। राष्ट्रिय स्वतन्त्र पार्टीले यो संवेदनशील “विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०ू का सम्बन्धमा विभिन्न सरोकारवाला निकायहरूसँग निरन्तर छलफल गरिरहेको छ । सरोकारवाला र विज्ञहरुसँग परामर्श गरी रास्वपाले यस विधेयकका सम्बन्धमा आफ्नो धारणा तथा संशोधन प्रस्ताव राख्नेछ ।

नेपालका सम्पूर्ण सार्वजनिक विद्यालयहरुको गुणस्तर उकास्नु पर्छ, ती विद्यालयहरुमा पढाउने शिक्षकको जीवनस्तर तथा पढ्ने विद्यार्थीहरुको उज्जवल भविष्य सुनिश्चित गर्नुपर्छ भन्ने कुरामा हामी प्रष्ट थियौं र छौं । राष्ट्रिय स्वतन्त्र पाटीको पहिलो प्राथमिकता विद्यार्थीको भविष्य नै हो । शिक्षाको गुणस्तर उकास्न नसके मुलुक भयावह स्थितिमा जान्छ । नेपालको शिक्षा नैतिक, व्यवहारिक, रोजगारमुखी र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न योग्य हुनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ ।

निश्चय नै शिक्षक जस्तो मर्यादित र अतिसम्मानित पेशालाई सरकारबाट कहिलै उचित व्यवहार भएन । समयमै विद्यालयका लागि आवश्यक दरबन्दी नखुलाउने, लाइसेन्सको परीक्षा नलिने तथा सबैलाई खुला पनि नगर्ने, लिएको परीक्षाको नतिजा वर्षौंसम्म ननिकाल्ने जस्ता कुराले शिक्षक हुन चाहेकाहरुलाई अन्यौलमा राखिंदै आएको पाइन्छ । रास्वपाले शिक्षकको तलब सुविधा सबभन्दा धेरै हुनुपर्छ भनी स्थापनाकालदेखि नै पटकपटक आवाज उठाउँदै आएको छ।

विद्यार्थीहरुको उज्जवल भविष्य सुनिश्चित गर्न पनि शिक्षकहरुको हकहित सुनिश्चित हुनुपर्दछ तर शिक्षकहरुले आफ्नो पेशागत हकहितका लागि एकजुट हुने नाममा राजनीतिक दलको भ्रातृ संगठनका रुपमा रहन नहुने हाम्रो नीति रहेको छ । शिक्षकहरुको पेशागत विकासका मागहरुमा हामी एकै ठाउँमा उभिन तयार छौं, साथै शिक्षकहरुले आफ्ना मागहरु सरकारसमक्ष राख्न पाउने वैकल्पिक विधिहरु हुँदा हुँदै विद्यार्थीहरुको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न सम्पूर्ण शिक्षक संगठनहरुप्रति हार्दिक अनुरोध गर्दछौं । 

 

 



प्रतिक्रिया दिनुहोस्