Logo

आन्दोलनरत शिक्षकहरुसँग वार्ता गर्ने जिम्मा गृहमन्त्री श्रेष्ठलाई



काठमाडौं,४ असोज । सरकारले संसद्मा दर्ता गराएको शिक्षा विधेयकको विरोधमा आन्दोलनमा होमिएका शिक्षकहरुसँग वार्ता गर्ने जिम्मा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पाएका छन् ।

कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आन्दोलनरत शिक्षकसँग वार्ता गरेर देशैभरको सामूदायिक विद्यालयको पठनपाठन सूचारु गर्ने वातावरण बनाउन गृहमन्त्री श्रेष्ठलाई जिम्मा दिएका हुन् ।

नेपाली कांग्रेसको आजबाट सुरु भएको केन्द्रीय कार्य समितिको बैठकमा बोल्दै खड्काले उक्त जिमेवारी श्रेष्ठलाई दिइएको जानकारी गराएका हुन् ।

“उहाँहरूसँग शिक्षा दिवसका दिन मेरो भेटघाट भएको थियो । प्रधानमन्त्री नभएकाले शिक्षा दिवसको कार्यक्रममा म नै गएको थिए । मैले त्यहाँ गुरुहरू आन्दोलनमा हुनुहुन्छ । अहिलेको अर्थतन्त्रमा थप भार नपर्ने गरी सबै माग पुरा गर्न सकिन्छ भनेको थिए,” खड्काले भने, “हामीले संविधान दिवसको दिन विज्ञप्ति जारी गरेर महासंघका नेताहरूलाई शिक्षा सचिवले ह्वाट्सएपमा पठाउनुभएको थियो । तर, उहाँहरू वार्ताका लागि तयार हुनु भएन । उपप्रधानमन्त्रीसँग वार्ता गरिसकेपछि अब मन्त्रीसँग वार्ता हुँदैन भन्नुभयो, त्यसपछि मैले नै प्रधानमन्त्रीसँग कुरा राखे र वार्ता गर्ने जिम्मा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पाउनुभएको छ ।”

बिहीबार विहान पनि आन्दोलनरत शिक्षकहरुसँग पहल गरेर उपप्रधानमन्त्री श्रेष्ठले सहमति खोज्ने प्रयास गरेका थिए । तर दुबै पक्षबीचमा कुरा नमिलेपछि आजै बस्नेगरि बैठक सकिएको थियो । बिहान स्थगित बैठक आजै साँझ बस्ने तय भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot