Logo

पार्टीको नाम, लोगो र झण्डा प्रयोग गरेर एकाउण्ट खोल्नेहरूलाई सम्पर्क गर्न एमालेको अनुरोध, अन्यथा कारबाही गर्ने चेतावनी



काठमाडौं,४ असोज । नेकपा (एमाले) ले पार्टीको नाम, लोगो, झण्डा र पार्टी नेताहरूको नाम जोडेर सञ्चालन भएका सबै एकाउण्ट सञ्चालकहरूलाई सम्पर्कमा आउन अनुरोध गरेको छ ।

पार्टीका स्थायी कमिटी सदस्य तथा केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले आज प्रेस विज्ञप्ति जारी गरी त्यस्ता एकाउण्ट सञ्चालकलाई १५ दिनभित्र पार्टीको केन्द्रीय प्रचार विभागको सम्पर्कमा आउन अनुरोध गरेका हुन् ।

नेकपा (एमाले) र यसको नेतृत्वका नाममा अनधिकृत रूपमा फेक आईडी प्रयोग गरी सामाजिक सञ्जालमार्फत् भ्रमपूर्ण समाचार सम्प्रेषण गरी आम नागरिक र पार्टीपङ्तीभित्र अफवाह फैलाइएको पाइएकाले त्यसप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सामाजिक सञ्जालको दुरुपयोग गरी अनधिकृत र अज्ञात व्यक्तिहरूबाट पार्टीको नाम, लोगो र झण्डा दुरुपयोग भइरहेको र यसले पार्टीपङ्ती र जनसमुदायमा भ्रम सिर्जना हुने गरेको छ भन्दै विज्ञप्तिमा उल्लेख गरिएको छ– तसर्थ, सामाजिक सञ्जालको दुरुपयोग रोक्न पार्टी र पार्टी नेतृत्वसँग जोडेर बनाइएका फेक एकाउण्ट बन्द गर्नुपर्ने चौतर्फी दबाब आएकाले सम्बन्धित सबैमा यो सूचना जारी गरिएको छ । त्यस्ता एकाउण्ट सञ्चालनकर्ताहरू सम्पर्कमा नआए आवश्यक कानुनी प्रक्रियामा जान पार्टी बाध्य हुने कुरा प्रेस विज्ञप्तिमार्फत एमालेले जानकारी दिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्