Logo

सरकार अराजकता, हत्या र हिंसाउन्मुख भयो: अर्जुननरसिंह केसी



काठमाडौं,४ असोज । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले शिक्षकहरूको आन्दोलनलाई सरकारले सहमति र सम्झौता, वार्ता र संवादद्वारा समाधान खोज्नुपर्ने बताएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले चार लाख शिक्षकलाई सडकमा राख्नु नहुने बताएका हुन् ।

उनले भने, ‘अहिले जुन खालको राष्ट्रिय परिस्थिति छ, शिक्षक आन्दोलन जसरी चलिरहेको छ । चार लाख शिक्षकलाई सडकमा राखेर सरकारले यसलाई सहमति र सम्झौता, वार्ता र संवादद्वारा निष्कर्ष निकाल्नु पर्छ की भन्ने हाम्रो दृष्टिकोण हो । त्यसबारेमा छलफल चलिरहेको छ । राष्ट्रिय रूपमा नै जुन जटिलता खडा भइरहेको छ, अन्तर जातीय भाइचारामा आएको द्वन्द्व, धर्मबीचको द्वन्द्व र एकले अर्को जातलाई काट्छु भनेर खुकुरी देखाउँदा सरकार मौन रहने स्थिति छ, यसले जटिलता थपेको छ ’ ।

नेता केसीले सरकार अराजकता, हत्या र हिंसाउन्मुख भएको भन्दै यस परिस्थितिलाई रोक्न कांग्रेसले भूमिका खेल्नुपर्ने बताए । उनले राष्ट्रिय रूपमा अहिले विभिन्न खालका जटिलता देखिएको भन्दै अन्तर जातीय भाइचारामा आएको द्वन्द्व, धर्मबीचको द्वन्द्व र एकले अर्कोलाई मार्छु भन्दासमेत सरकार मौन रहने स्थिति देखिएको बताए । देशमा अराजकता बढेकाले त्यसबाट रोक्न कांग्रेसले भूमिका खेल्नुपर्ने बताए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot