Logo

शिक्षा राज्यमन्त्री चार महिनादेखि बेरोजगार (भिडिओसहित)



काठमाडौं, ५ असोज । संसद्मा दर्ता भएको संघीय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै हजारौं शिक्षक काठमाडौं केन्द्रीत सडक आन्दोलनमा छन् । सरकारले शिक्षक महासंघसँग विभिन्न समयमा गरेको सम्झौता र सहमतिलाई संघीय शिक्षा विधेयकले सम्बोधन गर्न नसकेको भन्दै उनीहरु अनिश्चित कालीन विद्यालय बन्द गराएर आन्दोलनमा उत्रिएका हुन् ।

शिक्षक महासंघले यो आन्दोलनलाई निर्णायक आन्दोलनका रुपमा लिएको छ । सरकार र शिक्षकका प्रतिनिधिबीच हिजो विहान र बेलुका वार्ता भएपनि वार्ता निष्कर्षविहीन बनेको थियो ।

यो समस्या शिक्षा मन्त्रालयसँग सम्बन्धित भएकाले पनि यस्तो बेला शिक्षामन्त्रीको भूमिका महत्वपूर्ण हुन्छ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राई छन् । उनी निजी विद्यालयका सञ्चालक पनि हु्न् । निजी विद्यालयलाई प्रोत्साहन हु्ने र सामुदायिक विद्यालय ध्वस्त बनाउने नियतले विधेयकको ड्राफ्ट भएको उनीमाथि आरोप पनि लाग्ने गरेको छ ।

शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला यादव शिक्षा विधेकका सन्दर्भमा आफूलाई केही थाहा नभएको बताउँछिन् । राज्यमन्त्रीमा नियुक्त भएको चार महिना भइसक्दा पनि मन्त्रालयले लिने कुनै पनि निर्णय प्रक्रियामा आफूलाई सहभागी नगराइएको उनले बताईन् । मन्त्री राईले चार महिनापछि हिजो (४ गते ) आफूलाई बोलाएर मन्त्रालयले काम कारबाहीको बारेमा जानकारी गराएको उनले बताईन् ।

‘मन्त्रीज्यूले मलाई चार महिनामा आज बोलाएर सुरुदेखिको एक्टिभिटीको बारेमा जानकारी गराउनुभयो । कुनै किसिमको मतभेद नभएपनि यसरी बोलाएर उहाँले छलफल चाहिँ कहिल्यै पनि गर्नुभएन,’– राज्यमन्त्री यादवले भनिन् ।

मन्त्री राईकै अनुरोधमा राज्यमन्त्री नियुक्त हुन तयार भएको बताउँदै उनले नियुक्तिको चार महिना बित्तदा पनि कुनै जिम्मेवारी र काम नपाएको बताईन् । नियुक्तिको बेलामा मन्त्रालय विशाल छ, कामले एक मिनेट पनि फुर्सद हुँदैन भनेपनि चार/चार महिना बेरोजगार भएर बस्नुपरेको उनले बताईन् । राज्यमन्त्रीमा नियुक्त भएपछि मन्त्री राईले कुनै प्रकारको वास्ता नगरेको उनको भनाई छ ।

‘मन्त्रीजीले मलाई भन्नुभयो, अध्यक्षज्यूलाई धरै अनुरोध गरेर तपाईलाई राज्यमन्त्रीमा ल्याएको छु । म धेरै खुुसी छु । हाई स्कूलको हेडमास्टरजस्तो पदबाट तपाई आउनु भएको छ । मलाई धेरै सहयोग हुन्छ, यो मन्त्रालय विशाल छ, मलाई एक्लै गाह्रो भयो । अब तपाई आएपछि धेरै सजिलो हुन्छ । म तपाईँलाई यत्ति जिम्मेवारी दिन्छु एक मिनेटको पनि फुर्सद हुँदैन भनेर भन्नुभयो । उहाँ मेरो शीर्ष नेता हो । जतिखेर पनि जेन्डर इक्वालिटीको कुरा गर्नुहुन्छ ।’ उनले भनिन्, ‘उहाँले निश्चित रुपमा व्यवहारमा उर्तानुहुन्छजस्तो मैले महसुश गरेँ । तर, एक महिना वित्यो, दुई महिना वित्यो मलाई कुनै जिम्मेवारी छैन । म सहयोग गर्न खोज्दैछु, मन्त्रालय विशाल भन्दै हुनुहुन्छ ।’

आफू राज्यमन्त्रीमा नियुक्त भएपछि यो बीचमा सिटीभिटी, चिकित्सा शिक्षाको समस्या, आन्दोल र शिक्षा विधेयकलाई लिएर शिक्षकहरुको आन्दोलनका विषयमा मन्त्री राईले कहिल्यै पनि छलफल गर्नै नचाहेको उनको आरोप छ । आफूलाई मन्त्रालयगत छलफलमा सहभागी नगराइएको र समस्या आएको खण्डमा मन्त्री आफैं र सचिवमार्फत निर्णय लिने काम भएको उनले बताईन् ।



प्रतिक्रिया दिनुहोस्