Logo

आन्दोलनरत शिक्षकसँग वार्ता गर्न सरकारले सार्थक पहल नगर्नु विडम्बना होः प्रमुख सचेतक गिरी



काठमाडौं,५ असोज । शिक्षा विधेयकका बारेमा आन्दोलित बनेका शिक्षकहरुले उठाएका मागबारे नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले समर्थन जनाएका छन् ।

प्रमुख सचेतक गिरीले शुक्रबार विज्ञप्ति जारी गर्दै देशभरीबाट दुःख कष्ट सहेर काठमाडौंमा सडक आन्दोलन गरिरहेका शिक्षकका माग सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् । उनले तत्काल वार्ताबाट समाधान गरी शिक्षकलाई विद्यालयमा फर्काउन आग्रह गरेका छन् ।

‘समग्र देशको उन्नति र विकासको जग गुणस्तरीय शिक्षा हो भन्ने कुरामा कुनै विवाद हुनै सक्दैन । अहिले सार्वजनिक शिक्षालाई गुणस्तरीय, प्रतिस्पर्धी र विश्व बजारमा बिकाउ बनाउन धेरै ठुलो सुधारको खाँचो छ । यसका निम्ति शिक्षा सम्वद्ध सबै पक्ष उत्तिकै जिम्मेवार हुनु पर्दछ । शिक्षा क्षेत्र लाई मर्यादित र सम्मानित नबनाई साथै आम शिक्षकहरुको मनोवल माथि नउठाई गुणस्तरीय शिक्षाको कल्पना सम्म पनि गर्न सकिदैन’ । गिरीले भनेका छन् ।

‘त्यस कुरालाई ध्यानमा राख्दै सम्बन्धित सबै पक्षसँग परामर्श गरी शिक्षा बिधेयक आउनु पर्थ्यो तर त्यसो भएन । जसका कारण देशैभरिवाट हजारौं गुरुहरु अनेक दुखकष्ट सहेर काठमाडौं आई सडक आन्दोलन गरिरहनु भएको छ । जसका कारण लाखौँ विद्यार्थीहरुको पठन पाठन प्रभावित भएको छ । तसर्थ शिक्षकहरुको न्यायोचित मागहरु यथाशिघ्र पुरा गरी खुसी मनका साथ बिद्यालय शिक्षकहरु कार्यस्थलमा फर्कने वातावरण बनाउन सरकार सँग माग गर्दछु । ४ दिन सम्म हजारौं शिक्षकहरु काठमाडौका सडकमा धर्ना दिँदै प्रदर्शन गरिरहँदा सरकारले सार्थक पहल नगर्नु विडम्बना हो । तुरुन्त वार्ता मार्फत समाधान दिन आग्रह गर्द्छु ’। गिरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्