Logo

कांग्रेस नेता शिवाकोटीको आरोप, ‘भ्रष्टाचार प्रकरणमा सरकारले माओवादी नेताहरुलाई संरक्षण गर्यो’



काठमाडौं, ५ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सरकारले भ्रष्टाचार प्रकरणमा माओवादी नेताहरुको संरक्षण गरेको आरोप लगाएका छन् ।

आज (शु्क्रबार) पार्टी केन्द्रीय कार्यासमितिको बैठकलाई सम्बोधन गर्दै उनले नक्कली शरणार्थी प्रकरण, ललिता निवास प्रकरण र सुन काण्डसम्म आउँदा सरकारले देखाएको तदारुकता आफ्ना नेताहरु मुछिन थालेपछि सेलाएको उनको भनाई छ । उनले भ्रष्टाचार प्रकरणमा नाम मुछिएका पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनको परिवार, माओवादी उपाध्यक्ष कृष्ण बहादुर महारा र नेता बर्षामान पुनलाई अनुसन्धानको प्रक्रियाबाट बाहिरै राखिएको बताए ।

सरकारमा रहेको दलका नाताले कांग्रेसले यसबाट सार्वजनिक जीवनमा आलोचना खेप्नु परिरहेको उनको भनाई छ । यस बारेमा कांग्रेसले सरकारको नेतृत्व गरिरहेका माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सचेत गराउन आवश्यक रहेको बताए ।

अरुलाई अनुसन्धानमा तान्ने अनि आफ्ना मान्छेलाई बताउने चरित्रले ‘भ्रष्टचारमा शून्य सहनशीलता सबै पक्षप्रति हो कि दल विशेष वा लक्षित व्यक्तिहरुप्रति मात्र हो ?’ भन्ने प्रश्न खडा भएको उनले बताए ।

भ्रष्टचारमा शून्य सहनशीलतालाई प्रधानमन्त्री प्रचण्डले सबैलाई तर्साउने र कम्परमाईज गर्न बाध्य बनाउने अस्त्रको रुपमा प्रयोग गरेको उनको टिप्पणी छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot