Logo

उच्च अदालत पाटनले माग्यो ‘प्रकाश’लाई उत्कृष्ट चलचित्र घोषणा नगर्नुको कारण



काठमाडौं,५ असोज । उच्च अदालत पाटनले राष्ट्रिय चलचित्र पुरस्कार–२०८० मा सर्वोत्कृष्ट चलचित्रको घोषणा नगर्ने चलचित्र विकास बोर्डविरुद्ध कारण देखाउ आदेश दिएको छ ।

राष्ट्रिय चलचित्र पुरस्कार–२०८० मा सर्वोत्कृष्ट चलचित्रको घोषणा नगरिएको भन्दै चलचित्र ‘प्रकाश’का निर्देशक, लेखकसहितले बिहीबार उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।

उक्त रिटमाथि सुनुवाइ गर्दै शुक्रबार न्यायाधीश श्यामजी श्रेष्ठको इजलासले सर्वोत्कृष्ट चलचित्र घोषणा नगर्नुको कारण देखाउन बोर्डका नाममा आदेश जारी गरेको हो ।

बोर्डलाई विपक्षी बनाउँदै चलचित्र ‘प्रकाश’का निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी र चलचित्र छायांकनस्थल जुम्लाका स्थानीय मीनराज आचार्यले रिट दायर गरेका थिए । उनीहरूले रिटमा जुरीको निर्णयको सक्कल प्रति झिकाउन र कारण देखाउन परमादेशको माग गरेका थिए ।

राष्ट्रिय चलचित्र पुरस्कार–२०८० मा बोर्डले सर्वोत्कृष्ट विधा खाली राखेर अवार्ड वितरण गरेको थियो । भदौ १२ गते राष्ट्रपति कार्यालय शीतल निवासमा सर्वश्रेष्ठ फिल्मलाई छाडेर अन्य विधामा मात्र पुरस्कार वितरण गरिएको थियो । एक जना जुरी सदस्यले ‘प्रकाश’लाई सिफारिस गरिएको तर बोर्ड नेतृत्वले नमानेको बताएका थिए ।

उक्त चलचित्र माओवादी द्धन्द्धलाई आधार बनाएर निर्माण गरिएको हो । अवार्ड छनोट समितिमा रहका अधिकांश सदस्यहरु सत्तारुढ दल माओवादी केन्द्र निकटका व्यत्ति रहेका थिए । सत्ताको आडमा आफ्नो चलचित्रले अवार्ड नपाएको भन्दै निर्माण पक्षले पटक पटक आफ्नो असन्तुष्टि पोख्दै आइरहेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot