Logo

धार्मिक सद्भाव कायम गर्न धार्मिक अगुवाहरूको संयुक्त अपिल



काठमाडौं, ५ असोज  । धार्मिक अगुवाहरूले मलुकमा धार्मिक सद्भाव कायम राख्न संयुक्त अपिल गरेका छन् । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा आज गृह मन्त्रालयमा विभिन्न धर्मसँग सम्बन्धित अगुवा संस्थाका प्रमखुको बैठकपछि उनीहरूले संयुक्त अपिल जारी गरेका हुन् ।
धार्मिक अगुवाहरूले कुनै पनि असंवैधानिक तथा गैरकानूनी क्रियाकलापमा कोही पनि सहभागी नहुन र धार्मिक, सामाजिक एवं सांस्कृतिक सद्भाव प्रवद्र्धनमा क्रियाशील रहन आह्वान गरेका छन् । कतिपय ठाउँमा उच्छृङ्खल तथा अराजक रूपमा प्रस्तुत भई फरक धर्म सम्प्रदायको आस्था, व्यवहार, संस्कार र प्रचलनमा आघात पुन्याउने गतिविधि देखा परेकामा उनीहरूले चिन्ता व्यक्त गरेका छन् ।
विगत केही दिनयता देशका विभिन्न भागमा धर्म, जाति, सम्प्रदायको आधारमा एक अर्काप्रति घृणा र द्वेष फैलाउने, फरक धर्म, जाति तथा सम्प्रदायलाई चोट पुग्ने गरी गतिविधि भइरहेकामा धार्मिक अगुवाको ध्यानाकर्षण भएको अपिलमा जनाइएको छ ।
अपिलमा विश्व हिन्दु महासङ्घ राष्ट्रिय समिति, विश्व हिन्दु महासङ्घ अन्तर्राष्ट्रिय समिति, नेपाल सनातन धर्म संस्कृति सङ्गठन, हिन्दु जागरण नेपाल, विश्व हिन्दु परिषद् नेपाल, श्रीकृष्ण प्रणामी सेवा समिति, नेपाल बौद्ध महासङ्घ, नेपाल तामाङ बौद्ध गुम्बा सेवा समाज  र नेपाल परम्परागत बौद्ध धर्म सङ्घका प्रमुख तथा प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।
यस्तै अखिल नेपाल भिक्षु महासङ्घ, इस्लामी सङ्घ नेपाल, नेपाल मुस्लिम सङ्घ, नेपाल मुस्लिम इत्तेहाद सङ्गठन, मुस्लिम मुक्ति मोर्चा नेपाल, मर्कजी जमियत अहले हदिस, जमियत उलेमा–ए नेपाल, राष्ट्रिय क्रिश्चियन महासङ्घ नेपाल, नेपाल क्रिश्चियन सोसाइटी, नेशनल चर्च फेलोसिभ अफ नेपाल राष्ट्रिय नेपाली इसाई मण्डली एकता परिषद्, नेशनल सास्टर काउन्सिल नेपाल, नेपाली इसाई नागरिक सङ्घ र नेपाल वाइबल सोसाइटीका प्रतिनिधिको पनि हस्ताक्षर छ ।
धार्मिक अगुवासँगको छलफलका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले पछिल्लो समय देशका केही ठाउँमा धार्मिक सद्भाव खल्बल्याउने गतिविधि देखापरेकामा चिन्ता व्यक्त गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्