Logo

सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न सबै गम्भीर बनौंः ऋषि धमला



काठमाडौं, ६ असोज । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न सबैले संकल्प गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले भने,‘सहकारीको कुरा गर्दा अहिले हाम्रो देशमा धेरै किसिमका समस्या आईरहेको बेला छ, यो सहकारीले भने राम्रो काम गरेको छ । म यसका सञ्चालकहरुलाई ताली बजाएर अभिनन्दन गरिदिन आग्रह गर्दछु ।’

शुभप्रवा सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै धमलाले शुभप्रवा सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ भने जनताको मनमा बस्न सफल भएको बताए । उनले देशको अर्थतन्त्रको मेरुदण्ड भनेको नै सहकारी भएको भन्दै यसलाई बचाउनुपर्नेमा उनको जोड थियो ।

उनले भने,‘सहकारीसँग लाखौं जनता जोडिएका छन् । यसलाई बचाउनको लागि सबैले पहल गर्नुपर्छ । सहकारीका बारेमा देखिएका समस्या समाधान गरौं । सञ्चारकर्मीहरुले पनि सकारात्मक रुपमा कलम चलाउनुपर्छ ।’

सो क्रममा उनले सो सहकारीमा पैसा राख्दा नडुब्ने पनि बचतकर्ताहरुलाई विश्वास दिलाए । देशमा विकास र समृद्धिको यात्रा सहकारीको माध्यमबाट सुरु भएको उल्लेख गर्दै सहकारी आन्दोलनलाई सफल बनाउनुपर्ने धमलाको भनाई छ ।

सो क्रममा उनले हजारौं सहकारीहरुमध्ये केहीले बदमास गरेको होला भन्दै दुई/चार वटा सहकारीले खराब गर्दैमा सबैलाई नराम्रो भन्न नहुने जिकिर गरे । केही सहकारी सञ्चालकहरु विलाषीको जीवन जिएको र सहकारीको पैसा व्यक्तिगत स्वार्थमा प्रयोग गर्दा ती सहकारी डुबेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्