Logo

एमाले बागमती अधिवेशनः कैलाश ढुंगेललाई सर्वसम्मत अध्यक्ष बनाउने ओलीको चाहना, को-को छन् अन्य आकाँक्षी ?



काठमाडौं,७ असोज । नेकपा (एमाले)को प्रथम बागमती अधिवेशनको तयारी पूरा भएको छ । यही असोज ८ र ९ गते राजधानी काठमाडौंमा हुने अधिवेशनले पाँच पदाधिकारीसँगै २४० सदस्यीय प्रदेश कमिटीको चयन गर्नेछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले भोलि भृकुटीमण्डपमा भव्य समारोहबीच अधिवेशनको उद्घाटन गर्ने एमालेले जनाएको छ ।

अध्यक्ष ओलीले डिजिटल माध्यमबाट चल्ने रोबोर्टको प्रयोग गरेर उद्घाटन गर्नेछन् भने बन्दसत्र प्रज्ञा प्रतिष्ठानमा गरिने एमालेले जनाएको छ । अधिवेशनको प्रतिनिधि छनौटको काम सम्पन्न भइसकेको र प्रतिनिधिलाई कार्ड उपलब्ध गराउन अनलाइन इन्ट्रीको काम भइरहेको छ । मूल व्यवस्थापन समितिबाट अधिवेशनको काम अघि बढेको प्रदेश कमिटीले जनाएको छ ।

अधिवेशन सफल पार्न बागमती प्रदेशका वर्तमान अध्यक्ष केशवराज पाण्डेको संयोजकत्वमा प्रतिवेदन लेखन समिति, रामहरि सुवेदीको संयोजकत्वमा खाद्य व्यवस्थापन समिति, विजय सुवेदीको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन समिति, महेश बर्तौलाको संयोजकत्वमा प्रचार, रत्न गुरुङको सयोजकत्वमा आन्तरिक लेखा, कृष्णहरि खड्काको संयोजकत्वमा आर्थिक, ओम थपलियाको संयोजकत्वमा निर्वाचन समिति, पुरुषोत्तम आचार्यको संयोजकत्वमा हल व्यवस्थापन समिति बनाई काम अगाडि बढाइएको एमालेले जनाएको छ ।

को को छन् अध्यक्षको दौडमा ?

भोलिबाट सुरु हुने एमालेको बागमती प्रदेश अधिवेशनका लागि हालसम्म् ५ जना नेताहरु चर्चामा रहेका छन् । प्रदेशको अध्यक्ष एमालेको पदेन पोलिटब्यूरो सदस्य बन्ने प्रावधानका कारण यसपटक एमालेको प्रदेश नेतृत्व लिन अधिकांश केन्द्रीय सदस्यले आकांक्षा राखेका छन् । हालसम्म रामेछापका कैलाशप्रसाद ढुंगेल, मकवानपुरका कृष्णप्रसाद दाहाल, दोलखाकी रचना खड्का, धादिङका केशवराज पाण्डे, र काठमाडौंका सानुकुमार श्रेष्ठले आकांक्षमा राखेका छन् । प्रदेश अध्यक्षमा आकांक्षा राख्ने ढुंगेल, खड्का र दाहाल एमालेको १०औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका नेताहरु हुन् ।भने श्रेष्ठ बागमती प्रदेशका पूर्व सभामुख र पाण्डे एमाले बागमतीका निवर्तमान अध्यक्ष हुन् ।

अधिवेशनको मिति नजिकिएसँगे नेताहरुले शीर्ष नेतृत्वसँगको भेटवार्ता तीव्र बनाएका छन् । हालसम्म प्रदेश अध्यक्षमा आकांक्षा राख्नेहरु कोही कसैले पनि उम्मेदवारी भने घोषणा गरेका छैनन् । एमालेका एक नेताका अनुसार केन्द्रीय नेतृतवले यसपटक बागमती प्रदेशमा सर्वसम्मतरुपमा नेतृत्व चयन गर्ने बताएकाले आकांक्षीहरुले मुख खोल्ने आँट गरेका छैनन् ।

एमाले निकट स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले यसपटक प्रदेश अध्यक्षमा रामेछापका ढुंगेल र काठमाडौंका श्रेष्ठमध्ये एक जनालाई ग्रिन सिग्नल दिएका छन् । रामेछापका ढुंगेल र काठमाडौंका श्रेष्ठ दुबै जना अध्यक्ष अ‍ोलीका निकट नेताका साथै विश्वासपात्रका रुपमा चिनिन्छन् । ओलीले सर्वसम्मतरुपमा ढुंगेललाई अध्यक्ष बनाउनेगरि गृहकार्य थालेका एमाले निकट उच्च स्रोतले जनाएको छ । ढुंगेल तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको प्रदेश सरकारमा आर्थिक मामिला तथा योजनामन्त्रीको रुपमा झण्डै ३ वर्ष काम गरेका नेता हुन् । उनले प्रदेश सरकारमा रहँदा तत्कालिन एमाले पार्टी विभाजनको बेलामा नेकपा एसमा जाने सांसदहरुलाई एमालेमै रोक्नका लागि महत्वपूर्ण भूमिका खेलका थिए । ढुंगेल स्वयंले रामेछापकै अर्का प्रदेश सभा सदस्य शान्तिप्रसाद पौडेललाई मन्त्री बनाएर समाजवादीमा जान रोकेका थिए । भने अन्य सांसदहरुलाई पनि एमालेमै राख्न भरपूर प्रयास गरेका थिए । जसको कारण एमालेले पार्टी विभाजनको बेलामा पनि ठूलो क्षति बेर्होनु परेको थिएन् ।

त्यसो त, बागमती प्रदेशका पूर्व सभामुख सानुकुमार श्रेष्ठ पनि भावि अध्यक्षका मूख्य दावेदार हुन् । उनले ५ वर्ष बागमती प्रदशेको सभामुखको जिम्मेवारी निर्वाह गरेका थिए । श्रेष्ठ सभामुख रहेकै बेला भएको एमाले विभाजन रोक्न र तत्कालीन मुख्यमन्त्री पौडेलको सरकार टिकाउन लामो समयसम्म सदन बन्द गराएर अप्रत्यक्षरुपमा भूमिका खेलेका श्रेष्ठलाई अध्यक्ष बनाउन एमालेकै केही पदाधिकारीहरु लागि परेको उच्च स्रोतले जनाएको छ । अध्यक्षमा आकांक्षा राखेका ढुंगेललाई एमाले अध्यक्ष अ‍ोलीको साथै महासचिव शंकर पोखरेल, नेताहरु महेश बस्नेतलगायतको साथ छ भने, श्रेष्ठलाई एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललगायतको साथ रहेको बताइन्छ् ।

एमालेको गत भदौ १६ र १७ मा भएको लुम्बिनी प्रदेश अधिवेशनमा पनि सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि निर्वाचन भएको थियो । जसमा अध्यक्ष ओलीका दुई निकट नेताहरु उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलले गुट खडागरेर आ आफ्ना पक्षका उम्मेदवार उठाएका थिए । जसमा उपाध्यक्षप पौडेल निकटका उम्मेदवार पाल्पाका राधाकृष्ण कँडेल निर्वाचित भएका थिए । एमालेको लुम्बिनी प्रदेश अधिवेशनले गुटको राजनीति सुरु गरेको भन्दै नेताहरुले अन्य प्रदेशमा सर्वसम्मत नेतृत्व चयन हुने दाबी गर्दै आएका छन् । एमाले नेतृत्वले पनि लुम्बिनीबाट पाठ सिक्दै ढुंगेल र श्रेष्ठमध्ये एक जनालाई अध्यक्षको जिम्मेवारी दिने तयारी गरेको छ ।

भोलिबाट सुरु हुने अधिवेशनमा प्रतिनिधिका रूपमा स्थानीय तहबाट १२५ जना संगठित सदस्य बराबर एक जना, एकतिहाई महिला अनिवार्य, १० प्रतिशत ४० बर्षमुनिका युवालाई अनिवार्य सहभागिता गराइएको छ । अधिवेशनमा ४० बर्ष मुनिका १२० जना युवा प्रतिनिधिको रूपमा सहभागी भएका छन् । त्यस्तै कूल प्रतिनिधिको एकतिहाई अर्थात ३५० जना महिला प्रतिनिधि सहभागी हुने भएका छन् । दलित प्रतिनिधिको हकमा ५० जना बराबर एकको व्यवस्थापन गरिएको छ ।
अधिवेशनमा एक हजार १३८ जना प्रतिनिधिले सहभागिता जनाउने भएका छन् । बागमती प्रदेशका ११९ वटा स्थानीय तहबाट प्रतिनिधि चयन भएका छन् । अधिवेशनमा ७७ लाख रुपियाँ खर्च लाग्ने अनुमान गरिएको छ । अधिवेशनका लागि एमाले प्रदेश कमिटीका अनुसार अधिवेशनमा सबैभन्दा बढी प्रतिनिधि काठमाडौँका हुनेछन् । जहाँबाट १३२ जना प्रतिनिधि छनोट भइसकेका छन् । अधिवेशनका लागि काभ्रेबाट १२५ र मकवानपुरबाट १०६ जना प्रतिनिधि छनोट भइसकेका छन् । धादिङबाट ८७, दोलखा ६५, रसुवा २७, सिन्धुपाल्चोक ६४, रामेछाप ८१, नुवाकोट ६४, ललितपुर ५०, भक्तपुर ६६, सिन्धुली ६६ र चितवनबाट ८५ जना प्रतिनिधि छनोट भएका छन् । जनसंगठबाट ९५ जना प्रतिनिधि थपिनेछन् भने प्रदेश कमिटीबाट ५ प्रतिशत मनोनीत भएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्