Logo

भीम पराजुलीको प्रस्ताव: कोशी प्रदेशमा नयाँ समीकरण निर्माणका लागि निर्णायक वार्ता गरौं



काठमाडौं,७ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले वर्तमान सरकारको विकल्प खोज्ने बेला आएको दाबी गरेका छन् । कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा आफ्ना धारणा राख्दै पराजुलीले गृहमन्त्री नारायणकाजी  श्रेष्ठले प्रतिशोधपूर्ण ढंगले कांग्रेसका नेताहरुलाई जेलमा हालेर सडाउने रणनीति बनाएको बताउँदै कांग्रेसले अब गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको बताए ।

विराटनगर महानगरपालिकाका पूर्व मेयसमेत रहेका पराजूलीले कोशी प्रदेशमा देखिएको राजनीतिक अस्थिरता अन्त्यका लागि प्रदेश सभामा निर्णायक भूमिकामा रहेको राप्रपासँग वार्ता गर्नसमेत नेतृत्वसँग आग्रह गरेका छन् ।

उनले राप्रपासँग तालमेल नगरीकन अघि बढ्दा पटक पटक अस्थिरता दोहोरिएको बताए । ‘कोशी प्रदेशको सरकार गठन सन्दर्भमा राप्रपा सँग तालमेल नगरीकन अघि बढ्दा पटक पटक अस्थिरता दोहोरिएको छ,’ उनले भने, ‘कोशी प्रदेशमा सरकारको स्थिरता खोज्ने हो भने राप्रपासँग निर्णायक वार्ताअघि बढाएर नयाँ समीकरण निर्माण गर्नुपर्दछ ।’

पराजुलीले हिन्दु राष्ट्रको पक्षमा उभिनसमेत प्रस्ताव गरेका छन् । आजको बैठकमा बोल्दै उनले भने, ‘गत केन्द्रीय समिति बैठक मा नै मैले हिन्दु राष्ट्रको पक्षमा आफ्नो धारणा व्यक्त गर्दै हाम्रो पार्टीले धर्मसंस्कृति विभाग गठन गर्नुपर्दछ भनेर बताएको थिएँ । आज धरानमा नेपालको संविधानको बर्खिलाप खुलेआम गौहत्या जस्ता जघन्य अपराधका घटनाहरू घटेका छन्‌ । कांग्रेसले हिन्दू राष्ट्रका पक्षमा आवाज उाउनुपर्छ । यसले मात्र देश र कांग्रेसको कल्याण हुन्छ भन्नेमा म विश्वास राख्दछु र यसलाई लिएर कांग्रेस अगाडि बढ्नुपर्दछ भन्ने विचार राख्दछु’ ।

 



प्रतिक्रिया दिनुहोस्