Logo

कांग्रेस बैठकमा उठ्यो प्रचण्ड नेतृत्वको सरकार ढाल्ने कुरा



काठमाडौं,७ असोज । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक जारी छ । बीपी स्मृति भवन लतितपुरको सानेपामा तीन दिनदेखि बैठक जारी रहेको छ ।आइतबार ३१ जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका छन् ।

तीन दिनदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरुले आ -आफ्नो धारणा राखिरहेका छन् । आइतबारको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले वर्तमान राजनीतिक, आर्थिक र सामाजिक परिवेशलाई ध्यान दिएर सरकारको नेतृत्व आफ्नै पार्टीले गर्नुपर्नेमा जोड दिएका छन् ।

कांग्रेसका विशेषगरि संस्थापन इतर पक्षका नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार फेरेर आफ्नै पार्टीको नेतृत्वामा सरकार बनाउनु पर्ने पक्षमा छन् । पछिल्लो समय कांग्रेस नेताहरु प्रधानमन्त्री प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग असन्तुष्ट रहेका छ्न । विशेषगरि भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई जेलमा थुनाएको , शरणार्थी प्रकरणमै केन्द्रीय सदस्य एवं सांसदद्धय आरजु राण देउवा र मञ्जु खाँणलाई पक्राउ गर्नेगरि फाइल अगाडि बढाईएको, बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा पूर्व उपसभापति विजयकुमार गच्छद्धारलाई मुद्दा चलाईएको तर सुन प्रकरणमा नाम मुछिँदासम्म पनि माओवादी केन्द्रले आफ्ना पार्टीका कुनैपनि नेताहरुलाई छानबिन नगरेको, कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि राजधानीमै खुकुरी प्रहार हुँदापनि सरकार गम्भीर नबनेको भन्दै कांग्रेसभित्र आक्रोश बढ्दो रहेको छ ।

आइतबारको बैठकमा बोल्दै केन्द्रीय सदस्य राजिव ढुंगानाले गठबन्धन दलको नेतृत्वकर्ता पार्टी सभापति शेरबहादुर देउवा भएपनि प्रधानमन्त्री प्रचण्डले एकलौटी सरकार चलाएको दाबी गरे । उनले भने ‘ अहिले हामी सरकारमा मात्रै छैनौं । यो सरकार बनाउने गठबन्धनको नेतृत्वकर्ता पनि कांग्रेस नै हो । सरकारले अहिले के गरिरहेको छ । गम्भीर रुपमा समीक्षा हुनु जरुरी छ ’ ।

अर्का केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले गठबन्धनको औचित्य पुष्ठि गर्नकै लागि सरकारमा रहनुको अर्थ नभएको बताएका छन् । उनले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले राम्रो काम नगरेको भन्दैपार्टीले समीक्षा गर्न आवश्यक रहेको बताए ।

अर्का केन्द्रीय सदस्य भीम पराजुलीले कांग्रेसका कार्यकर्तामाथि छानिछानी दुःख दिने गृहमन्त्री नारायणकाजी श्रेष्ठको नियतबारे छलफल गर्नुपर्ने बताए । पराजुलीले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहारको घटनामा सरकार जिम्मेवार नभएको भन्दै सरकोको बारेमा सोच्नेबेला आएको बताए । ‘कांग्रेसलाई छानीछानी दुस्ख दिने गृहमन्त्रीको नियतबारे पनि समीक्षा हुनुपर्छ,’ उनले भने, ‘सुन प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको नाम समाचारमा आएका छन्। उनलाई न पक्राउ गरिन्छ न कुनै मुद्दा चल्छ।’

अर्की केन्द्रीय सदस्य गोमाकुमारी भट्टराईले वर्तमान सरकारबाट कांग्रेसी कार्यकर्ता सुरक्षित हुन नसकेको भन्दै नेतृत्वको ध्यानाकर्षण गराइन् । ‘कांग्रेसको भरमा टेकेर माओवादीले सरकारमा बसेर निर्णय गरेको छ तर हामीलाई अपजस नै अपजस मात्रै आइरहेको छ,’ उनले भनिन्, ‘हामी डेलिकेसन गएर दवाव दिनुपर्छ।’

अर्का केन्द्रीय सदस्य श्याम घिमिरेले राजनीतिक अस्थिरताबाट देशलाई जोगाउका लागि सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने बताएका थिए ।

‘हरेक नागरिकमा नकारात्मक अवधारणा छ । यसलाई सकारात्मकता तिर कसरी लाने ? मुद्दामा स्पष्टताको आवश्यकता, कतिपय अवस्थामा बोलकबोल गरेर अगाडि बढ्दा पनि हामीसँग विश्वास बढेको छैन’ घिमिरेले भने, ‘राजनीतिक अस्थिरताको कारणले निराशा र आक्रोश छ । संविधानकाको कारण, निर्वाचन प्रणालीको कारण अस्थिरता आएको छ । कांग्रेसले यी विषयमा स्पष्ट दृष्टिकोण राख्नुपर्छ । कांग्रेसले नै नेतृत्व गर्ने तयारीकासाथ अब अगाडि बढ्नुपर्छ ।’

कांग्रेसको तीन दिनदेखि जारी बैठक भोलि पनि बस्नेछ । संस्थापन इतर पक्षले सरकारको नेतृत्व फेर्नुपर्ने आवाज उठाएपनि संस्थापन पक्ष भने वर्तमान सत्ता गठबन्धलाइ निरन्तरता दिनुपर्ने पक्षमा दृढ रहेको छ । शनिबारमात्रै कांग्रेसका प्रभावशाली नेता ज्ञानेन्द्रबहाखुर कार्कीले वर्तमान सत्ता गठबन्धन ५ वर्षनै जाने दाबी गरेका थिए । कांग्रेसभित्र इतर समूह संस्थापनको तूलनामा निक्कै कमजोर रहेको हुँदा संस्थापन पक्ष र स्वयं पार्टी सभापति शेरबहादुर देउवाले नचाहँदासम्म सरकार परिवर्तान गर्ने संस्थापन इतर समूहको प्रयास सार्थन नहुने निश्चित छ ।

 



प्रतिक्रिया दिनुहोस्