Logo

एक साताभित्र चिनीको व्यवस्था गर्न उद्योगमन्त्री रिजालसँग व्यवसायीहरूको माग, मन्त्री रिजालको यस्तो प्रतिबद्धता



काठमाडौं, ७ असोज । चाडपर्व नजिकिएसँगै दैनिक उपभोग्य वस्तुहरुको अभाव सिर्जना हुन थालेको छ । सरकारले दैनिक उपभोग्य वस्तुहरुको जोहो गर्न गम्भीरता नदेखाएको भन्दै आज (आइतबार) देशका प्रतिष्ठित उद्योगी तथा व्यवसायीहरुले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग भेटेका छन् । नेपाल विस्कुट उत्पादक संघका प्रतिनिधिले मन्त्री रिजालसँगको भेटमा चिनीको अभाव भएकोले सो अभावपूर्तिको लागि गम्भीर हुन आग्रह गरेको छ ।

सिंहदरबारस्थित् मन्त्रालयमा भएको भेटमा संघका तर्फबाट मन्त्री रिजालसँग ओम महर्जन र व्यवसायी महेश जाजुले भेटेका हुन् । सो क्रममा व्यवसायीहरुले आफूहरुको उद्योग बन्द हुने स्थितिमा पुगेको पनि गुनासो पोखेका थिए । सरकारले आगामी तीन महिनाभित्र चिनीको सहज व्यवस्थापन गर्नेखालको कुरा गरेपछि व्यवसायीहरु आक्रोशित बनेका थिए । उनीहरुले नेपालीहरुको मुख्य चाडपर्व नै सकिएपछि चिनीको व्यवस्था गर्नुले कुनै अर्थ नहुने भन्दै एक साताभित्र चिनीको अभाव हुन नदिन चेतावनी दिएका हुन् ।

उनीहरुले गत वर्षको खपतको आधारमा आफूहरुलाई चिनी उपलब्ध गराउनुपर्ने माग गरेका छन् । उनीहरुले मन्त्री रिजालसँग हाललाई ५० हजार टन चिनीको व्यवस्था गरिदिन भनेका छन् । उनीहरुले सुलभ भन्सार दरमा चिनी दिनुपर्ने आवाज उठाएका छन् । उद्योगमन्त्री रिजालले चिनीलगायत अत्यावश्यक खाद्यवस्तुको समस्या छ्टिै समाधान गर्ने विश्वास दिलाएका थिए ।

तर, व्यवसायीहरुले भने आगामी असोज १२ गतेसम्म पनि चिनीको व्यवस्था भएन भने आफूहरुलाई सह्य नहुने चेतावनी दिएका छन् । सरकारले ल्याउन नसके आफूहरुले ल्याउने उनीहरुको भनाई छ । तर, मन्त्री रिजालले भने चाडपर्वको मुखमा खाद्य वस्तुलगायत अत्यावश्यक वस्तुको कुनै अभाव हुन नदिने प्रतिबद्धता जनाए । उनले भने,‘अहिले कृत्रिम अभाव सिर्जना गर्न खोजिएको छ । चाडपर्वमा अभाव हुन दिन्नँ । केहीको अभाव हुँदैन् ।’

यसअघि संसद्को उद्योग समितिले पनि चिनीको उचित व्यवस्था गर्न सरकारलाई निर्देशन दिइसकेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले चाडवाडको मुखमा चिनीको अभाव हुन नदिन भारतबाट चिनी आपूर्तिका लागि पत्राचार गरिएको बताएका थिए । नेपाली बजारमा तीन लाख मेट्रिकटन चिनीको माग भए पनि उत्पादन दुई लाख ६० हजार मेट्रिकटन मात्र रहेको बताईएको छ ।

चिनीको अभाव हुन नदिन नेपाल सरकारले ५० हजार मेट्रिकटन चिनी उपलब्ध गराइदिन भारतसँग पत्राचार गरिसकेको छ । भारतीय पक्षबाट नेपालले माग गरेअनुसारको चिनी उपलब्ध गराइदिने आश्वासन दिएको पनि जनाईएको छ । अर्थमन्त्रालयले भने २० हजार मेट्रिकटन चिनी आयातका लागि भन्सार महसुलमा ५० प्रतिशत छुट दिएको छ । सरकारले चिनीको आयातमा ३० प्रतिशत भन्सार महसुल लगाउँदै आएको छ । दश हजार मेट्रिकटन चिनी साल्ट ट्रेडिङ कर्पोरेशन र १० हजार मेट्रिकटन चिनी खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट आयात गर्ने सरकारको तयारी छ ।

 

 



प्रतिक्रिया दिनुहोस्