काठमाडौं, ८ असोज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आजभन्दा २०÷२५ वर्षअघि त्रि–चन्द्र क्याम्पस प्रमुखकाबारेमा आफूले बोलेको विषयलाई लिएर माफी मागेका छन् ।
आज (सोमबार) पार्टीको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले आफूले बोल्न नहुने निम्नस्तरको भाषा प्रयोग गरेको भन्दै माफी मागेका हुन् ।
‘म त्रिचन्द्र कलेजको सभापति हुँदाखेरी त्यो बेलामा क्याम्पस चिफको बारेमा मैले सार्वजनिक ठाउँमा दुर्वचन बोलेको रहेछु । अलिकति निम्नस्तरको भाषा बोलेको रहेछु । मैले कुनै कुरामा विषय उठाउँदै गर्दा युवाहरुले भिडिओ देखाएर मलाई भन्छन्– तपाईँले आफ्नो पालामा यस्तो गरेको विर्सिनुभयो ? मैले भने म क्षमा चाहन्छु ।’ उनले भने, ‘२०/२५ वर्षअघिको दुर्वचनका लागि म क्षमा चाहन्छु । त्यसको लागि पनि म माफी माग्छु । त्यो बेलामा पनि मैले गर्न हुँदैन थियो । युवा हुँदा पनि मैले गर्न हुँदैन थियो ।’
महामन्त्री थापाले अबको कांग्रेस नैतिक हिसाबले ठीक ठाउँमा उभिन पर्ने बताए । आफ्नो शासन कालमा र जिम्मेवारी पाएको ठाउँमा डेलिभरी गर्न सकेको खण्डमा कांग्रेसलाई कुनै कुराले पनि परास्त पार्न नसक्ने उनको भनाई छ । कांग्रेस बदल्ने कुराको मर्म कांग्रेसलाई कांग्रेसजस्तो बनाउनु रहेको उनले बताए ।
उनले तत्कालीन समयमा त्रि–चन्द्र क्याम्पसको एक कार्यक्रममा क्याम्पस प्रमुखका बारेमा भनेका थिए, ‘त्रि–चन्द्र क्याम्पसको प्रमुख अहिलेको सबैभन्दा ठूलो मण्डले । क्याम्पस प्रमुखलाई दिनमा १० पटक त्रि–चन्द्रको नेविसंघले फोन गर्नपर्छ । त आज सात बजे यो बाटोबाट घर जाँदैछस्, साढे सात बजे तँ सँग भेटौंला एउटाले भन्नुपर्ला । मुटुको रोगी छ । त्यसलाई दिनमा कम्तिमा पनि, मैले सामान्य उदाहरण दिएँ, पुलिस देखाएर हामीलाई तर्साउँछ भने कम्तिमा टेलिफोन युज गरेर हामीले ….।’