Logo

स्वास्थ्यकर्मीमाथि कुटपिट र आक्रमण गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही गरौंः महामन्त्री थापा



काठमाडौं, ९ असोज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उपचारको विषयसँग सम्बन्धित रहेर कसैले स्वास्थ्यकर्मीमाथि कुटपिट र आक्रमण गर्छ भने कुटपिट र आक्रमण गर्ने व्यक्तिलाई तत्काल पुर्पक्षको लागि नियन्त्रणमा लिनुपर्ने बताएका छन् ।

आज सामाजिक सञ्जालमार्फत विज्ञप्ति सार्वजनिक गर्दै उनले ’स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन’ कडाइका साथ कार्यान्वयन गर्न आवश्यक रहेको बताएका हुन् ।

चिकित्सक वा स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई समेत उक्त ऐनले समेट्ने गरी एकीकृत ढङ्गले कानुन संशोधन गर्न र कार्यान्वयनको संयन्त्र बलियो बनाउन पर्ने आवश्यकता उनले औंल्याएका छन् ।

चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीमाथि उपचारसंग जोडिएर कार्यस्थल वा वाहिर हुने आक्रमण गम्भीर समस्या भएको बताउँदै उनले यसलाई घटना घटेको बेला मात्र सम्झने अरू बेला बिर्सने गर्न नहुने बताएका छन् ।

यो पटक यस्ता अप्रिय घटना नघट्ने अवस्था निर्माण गर्नका लागि सबै जना काम गर्न तयार हुन पर्ने उनले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्