काठमाडौं, १० असोज । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले देशभरका चिकित्सकहरुले सुरु गरेको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ ।
नेविसंघले विज्ञप्ति जारी गर्दै देशभरीका आवासीय चिकित्सक र समग्र स्वास्थ्यकर्मीले सुरक्षित रुपमा कार्यस्थलमा सेवा प्रवाह गर्नु पाऊँ भनी सुरु गरेको आन्दोलनमा समर्थन जनाएको हो । आफूलाई परेको मारमा राज्यका निकायमा नगई कानुन हातमा लिएर चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेको भौतिक हमलालाईको नेविसंघले भत्सना गरेको छ ।
पछिल्लो समय पोखराको मणिपाल शिक्षण अस्पताल र हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१ मा रहेको सञ्चो अस्पतालमा कार्यरत चिकित्सकमाथि आक्रम भएको थियो । सोही घटनालाई लिएर स्वास्थ्यकर्मीहरु आन्दोलनमा छन् ।
यद्यपि उपचार गर्दा कुनैक्रम हेलचेर्क्याइँ भएको आभास भएमा उचित छानबिनका लागि नेपाल मेडिकल काउन्सिल, गृहप्रशासन तथा न्यायलयमा आमसर्वसाधारणको पहुँच हुन आवश्यक रहेको नेविसंघले जनाएको छ ।
पछिल्लो समय स्वास्थ्यजस्तो संवेदनशील विषय र अहोरात्र खटेर सेवा प्रवाह गर्ने स्वास्थ्यकर्मीको जीवन असुरक्षित हुँदै गएको भन्दै नेविसंघले आपत्ति जनाएको छ ।
सरकारले यस्ता घटनाको सत्यतथ्य छानबिन गरी स्वास्थ्यकर्मीमाथि हातपात गर्ने समूहलाई तुरुन्त कानुनी दायरामा ल्याउन नेविसंघले माग गरेको छ ।