काठमाडौं, ११ असोज । नेकपा (माओवादी केन्द्र) ले संसद्मा पेश भएको शिक्षा विधेयक संविधानको भावना र मर्म अनुसार हुनुपर्ने र त्यसले शिक्षकहरुको जायज माग पनि सम्बोधन गर्नपर्ने बताएको छ । आज (बिहीबार) पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग पार्टी प्रवक्ता अग्नि सापकोटाले आजको बैठकमा मूलतः शिक्षा विधेय र शिक्षकको आन्दोलनका बारेमा छलफल भएको बताए ।
उनले आन्दोलनमा रहेका शिक्षक र स्वास्थ्यकर्मीहरुको मागलाई वार्ताको माध्यमबाट समाधान गरिनुपर्ने बताए । ‘आज मुख्यतः स्वास्थ्य शिक्षा सम्बन्धी, शिक्षा सम्बन्धि विधेयक संसद्मा दर्ता भएको छ, त्यसका बारेमा छलफल भयो । त्यसका साथै, राहत शिक्षकहरुको गुनासो, उहाँहरुको माग सम्बोधन भएन भनेर आन्दोलन जारी राख्नु भएको छ ।’ उनले भने, ‘त्यो आन्दोलनको विषयमा, स्वाथ्यकर्मीहरुको आन्दोलनको विषयमा वार्ताको माध्यमबाट समाधान गर्नपर्छ र खास गरी यो शिक्षा विधेयकका बारेमा हामीले गहन छलफल गर्यौ र त्यसमा चाहिँ संविधानको भावना र मर्म अनुसार पनि हुनपर्यो र शिक्षकहरुको जायज मागहरु पनि सम्बोधन हुन पर्यो । राहत शिक्षकहरुको माग, उनीहरुले उठाएका प्रश्न र गुनासाका सम्बन्धमा राम्रोसित छलफल गरेर संवादको माध्यमबाट नै हल गर्नपर्छ भन्ने कुुरामा हामीले सबैभन्दा बढि छलफल गर्यौं ।’
साथै, देशका विभिन्न ठाउँमा धार्मिक सद्भाव खलबलिने गरी भइरहेका गतिविधिमा सरकार गम्भीर हुनपर्ने माओवादी बैठकको निश्कर्ष रहेको छ । सामाजिक सद्भावलाई कायम राख्न बेलैमा विचार पुर्याएर समाधानको दिशामा अगाडि बढ्न आवश्यक रहेको प्रवक्ता सापकोटाले बताए । यस्ता प्रकारका गतिविधिलाई बेलैमा समाधान नगरिएको खण्डमा यसले विकराल रुप लिने माओवादीको निश्कर्ष छ ।
‘देशका विभिन्न भागहरुका धार्मिक सद्भाव खलबलिने खाल्का कुरा, स्राम्प्रदायिक सद्भाव खलबलिने कुरा त्यसमा चाहिँ अब सद्भाव कायम गर्नपर्छ । हामी नेपालीहरुमा सामाजिक सद्भावको स्थिति धेरै राम्रो छ । सामाजिक सद्भावलाई कायम गरिराख्न पर्छ ।’ उनले भने, ‘अहिले अलिकति अराजकताका संकेतहरु देखापरेका छन् । यसलाई बेलैमा हामीले गम्भीरतापूर्वक लिएर समाधान गर्ने दिशातिर जानुपर्छ । बेलैमा हरेक कुरालाई सम्बोधन गरियो भने समाधान भएर जान्छ । त्यसलाई समयमै समाधान गर्ने पहल कदमी लिइएन भने विकराल रुप लिनसक्छ । यी समस्या बेलैमा समाधान गर्नुपर्छ भनेर हामीले छलफल गर्यौं ।’
अहिले चलिरहेको जनतासँग माओवादी, माओवादी विशेष रुपान्तरण अभियानको बारेमा पनि छलफल भएको उनले बताए । अभियानमा रहेका नेता तथा कार्यकर्तालाई समाजमा सामाजिक सद्भाव कायमका लागि छलफल गर्न आग्रह गरे । File Photo/RN